लाहिरु मिलान्थाको अविजित ७५ रनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा विजयी सुरुआत गरेको छ । जनकपुरले एनपीएलको पहिलो खेलमा शनिबार विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।श्रीलंकामा जन्मिएका अमेरिकन खेलाडी मिलान्थाले ५३ बलमा अविजित ७५ रन बनाएपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले १ सय २८ रनको लक्ष्य १५।३ ओभरमै १ सय ३१ रन बनाउँदै पूरा गर्यो । लाहिरुले ९ चौका र ३ छक्का प्रहार गरेका थिए ।लाहिरुले हर्ष ठाकेरसँग तेस्रो विकेटका लागि १ सय १६ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई आरामदायी विजयी दिलाएका हुन् । ठाकेरले ३३ बल खेली २ चौकासहित २९ रन बनाए । स्कोर बराबरी रहेको अवस्थामा उनले नै निकोलस कृतनको बलमा विजयी चौका प्रहार गरे ।
विराटनगरको अनियन्त्रित बलिङको जनकपुरले फाइदा उठायो । विराटनगरले अतिरिक्तमै २२ रन दिएको थियो । क्रिस सोलले पहिलो ओभरमै ३ वाइड फालेका थिए, जसमा इनिङ्सको पहिलो बल लेग साइडमा चौका गएको थियो । सोलले नै आसिफ शेखलाई पहिलो ओभरमा शून्यमा बोल्ड गरेका थिए । कप्तान अनिल साह पनि ५ रनमा बनाई प्रतिश जीसीको बलमा बोल्ड भए ।
यसअघि मार्टिन गप्टिलको अर्धशतक बनाए पनि टस हारेर ब्याटिङमा आएको विराटनगर १९ ओभर खेली १ सय २७ रनमा अलआउट भएको थियो ।
गप्टिलले ४३ बलमा ५५ रन बनाए । न्युजिल्यान्डका पूर्वओपनर उनले ७ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरमा उनले बेन माइकलाई स्ट्रेट छक्का प्रहार गरी आफ्नो अर्धशतक पूरा गरेका थिए । त्यसको अर्को ओभरमा हर्ष ठाकरले उनलाई लङ अनमा कप्तान अनिल साहबाट क्याच गराए ।
विराटनगरको सुरुआत राम्रो थिएन । खेलको पहिलो ओभरमा चौका प्रहार गरेका लोकेश बमलाई दोस्रो ओभरको पहिलो बलमा ललित राजवंशीले बोल्ड गरेका थिए । बमले ५ रनमात्र बनाउन सके । अकिब इल्यासले पनि १८ बलमा १५ रनमात्र बनाउन सके । ओमानका पूर्वकप्तान इल्यासलाई मोहम्मद मोहसिनले एलबीडब्लु आउट गरे । गप्टिल र इल्यासबाहेक विराटनगरबाट अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।
निकोलस कृतन ९, राजेश पुलामी १, प्रतिश जीसी २, बसिर अहमद र सन्दीप लामिछाने समान ७ तथा क्रिस सोल ४ रनमा आउट भए । आफ्ना क्यानेडियन कप्तान कृतनलाई ठाकेरले बोल्ड गरेका थिए । जितेन्द्र मुखियाले खाता खोल्न सकेनन् । अनिल खरेल ७ रनमा अविजित रहे ।
जनकपुरबाट ललितले ३ विकेट लिए । उनले ४ ओभरमा २८ रन खर्चे । ठाकेर र किशोर महतोले २–२ तथा मोहसिन र माइकले १–१ विकेट लिए । ठाकेरले ४ ओभरमा २२ र किशोरले ३ ओभरमा १८ रन खर्चे ।