चालु आर्थिक वर्षको गत चैतमा २०८१–८२ कै उच्च घरजग्गा कारोबार भएको छ । पछिल्ला महिनाहरुमा कारोबार क्रमकि रुपमा बढ्न थाल पछि घरजग्गा कारोबार लयमा फर्किने प्रयत्नमा देखिएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । चैतमा देशभरका मालपोत कार्यालय मार्फत ४९ हजार ८३२ वटा घरजग्गाको लिखत पारित भएका छन् । यो चाल आवकै सबैभन्दा धेरै हो । यद्यपि, गत आवको सोही महिनाको तुलनामा भने सामान्य घटेको देखिन्छ । हाल औसतमा साढे ४१ सय घरजग्गा खरिदबिक्री हुँदै आएको विभागले जनाएको छ ।
गत फागुनको तुलनामा कारोबार ८.१९ प्रतिशत वृद्धि भएको हो । गत फागुनमा देशभर ४६ हजार ६१ वटा मात्रै घरजग्गा किनबेच भएका थिए । गत पुसमा देशभर ४८ हजार १५६ वटा घरजग्गा खरिबिक्री भएको थियो । त्यसपछिका महिनाहरुमा घटेको थियो । विभागका अनुसार गत माघमा पनि ४६ हजार ६९ वटा किनबेच भएका थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा भने देशभर तीन लाख ७४ हजार १७१ वटा घरजग्गा खरिदबिक्री भएका छन् । जबकि, गत आवको चैत मसान्तसम्ममा भने ३ लाख ८० हजार १७३ वटा घरजग्गाको लिखत पारित भएको थियो ।
विभागका अनुसार चालु आवको साउनमा ४३ हजार ८३५ वटा, भदौमा ३२ हजार ७९८, असोजमा ३० हजार ५२७, कात्तिकमा ३३ हजार ५१४, मंसिरमा ४३ हजार ३७९ वटा घरजग्गा किनबेच भएका थिए । विगत ३ वर्षदेखि सुस्त कारोबारलाई चलायमान बनाउन सकारी तवरबाट पनि धेरै प्रयासहरु भइरहेका छन् । कारोबार विस्तारै शिथिलताबाट उठ्ने प्रयासमा छ । अर्थतन्त्रमा देखिएको सकारात्मक सुधारसँगै घर जग्गा बजार पनि विस्तारै उकासिने अपेक्षा छ । सरकारी तवरबाट भएको नीतिगत सहजीकरणले पनि यसलाई थप टेवा पुगेको बताइन्छ ।
हाल बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम अधिक नै छ । लगानीयोग्य रकम बैंकहरुमा थुप्रिएर बसेको अवस्था छन् । ब्याजदर पनि निरन्तर घटीरहेको छ । अन्य क्षेत्रको तुलनामा घरजग्गा कारोबारलाई नै चलायमान बनाउने गरि बैंकहरुले नै विभिन्न स्किमहरु पनि ल्याइरहेका छन् । निश्चित एकल अंकको ब्याजदरमै घरजग्गा कर्जा उपलब्ध गराउन बैंकहरु पनि तयार नै छन् । आर्थिक गतिविधि पनि बढ्न थालेको छ । यसले लगानीकर्ताहरुको मनोबल पनि बढाएका छन् । यस्तो अवस्थामा घरजग्गा कारोबार क्रमिक सुधार हुँदै आएको व्यवसायीहरु बताउँछन् ।
कारोबारसँगै राजश्व पनि दोहोरो अंकमा वृद्धि भएको छ । चालु आवको ९ महिनामा देशभरको कारोबारबाट ३३ अर्ब २२ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजश्व उठेको छ । यो गत आवको सोही अवधिको तुलनामा भने १३.०८ प्रतिशत बढी हो । गत आवको सो अवधिमा भने सरकारले २९ अर्ब १९ करोिड ९३ लाख ६६ हजार रुपैयाँ राजश्व प्राप्त गरेको थियो ।
चालु आवको चैत महिनामा मात्रै सरकारले ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । विभागका अनुसार गत फागुनमा ४ अर्ब १२ करोड रुपैयाँ, माघमा ३ अर्ब ८७करोड २४ लाख ८१ हजार, पुसमा ४ अर्ब २५ करोड २२ लाख, मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार राजश्व उठेको थियो ।