काठमाडौं : जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगले नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीको मोबाइल परीक्षणका लागि प्रहरीको डिजिटल फोरेन्सिक ल्याब ९डीएफएल० मा पठाएको छ ।
जोशीले दिएको बयानको सत्यता परीक्षणसहित थप विवरण खुल्ने सम्भावनाका कारण मोबाइल फोनलाई त्यहाँ पठाइएको आयोग स्रोतले जनाएको छ ।
आयोगले शुक्रवार लिएको बयानका क्रममा उनले भदौ २४ गते नख्खु कारागारबाट रास्वपा सभापति रवि लामिछाने बाहिर निस्किएको डेढ घण्टापछि एक पत्रमा हस्ताक्षर गरेको स्वीकार गरेका थिए ।
गृह मन्त्रालयका तत्कालीन सचिवसहित उच्च पदस्थ हाकिमहरूको दबाबमा उक्त पत्रको ब्यहोरा नपढी हस्ताक्षर गरेको र लामिछानेलाई रिहा गर्ने पत्र हुनसक्ने बताएका थिए ।
लामिछानेको रिहाईलगत्तै देशभरका कारागारबाट बन्दी भाग्ने, कारागार तोडफोडसँगै सर्वोच्चसहित विभिन्न तहका अदालतका कागजात नष्ट भएका थिए ।
उक्त कार्यमा तत्कालीन जेलर जोशीलाई क(कसले सम्पर्क गरे, के(कस्ता कुराकानी र सन्देश आदानप्रदान भए भन्ने कुरा विस्तृतमा बुझ्नुपर्ने कारण मोबाइल फोरेन्सिक ल्याबमा पठाइएको आयोग स्रोतले बतायो ।
आयोगले बिहीबार ९आज० देखि घटनासँग सम्बन्धित प्रहरी कमान्डरहरूको बयान लिने भएको छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले आजबाट उनीहरूको बयान शुरू हुने बताएका हुन् । तर, कोबाट बयान शुरू हुने भन्नेबारे उनले केही बताएनन् । ‘शुरू हुन्छ, तर को(कोबाट भन्ने कुरा अहिल्यै नभनौँ, उनले भने ।