प्रेस चौतारी नेपाल मधेश प्रदेशका पुर्व अध्यक्ष एवं रौतहटका बरिष्ठ पत्रकार फणिदेव महतको मंगलबार दाहसंस्कार गरिएको छ । । लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित महतको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा सोमबार निधन भएको थियो ।
पत्रकारिता क्षेत्रमा उनले निडर, निष्पक्ष र जनपक्षीय पत्रकारितालाई आफ्नो जीवनभर निरन्तरता दिँदै आएका थिए।
उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कर्मठ, सक्षम र सिद्धान्तनिष्ठ पत्रकार गुमाएको सञ्चारकर्मीहरूले बताएका छन्। प्रेस चौतारीसहित विभिन्न पत्रकार संगठनहरूले उनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेपाल पत्रकार महासंघले उनको पार्थिव शरीरमा महासंघको लोगो अंकित झण्डा ओढाएर सम्मान प्रकट गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति सयोजक, मधेशका अध्यक्ष श्याम बन्जारा,रौतहटका अध्यक्ष संजयकार्कीले झण्डा ओढाएका थिए ।
त्यसैगरि प्रेस चौतारी नेपालका उपमहासचिव हरिबल्लव नेपाल, मधेशका इन्चार्ज अच्यूत पौडेल केन्द्रीय सदस्यहरु इन्दिप कोइराला ,रमेश तिमिलसीना, बख्तियार अली , प्रेमचन्द्र झा, रौतहटका अध्यक्ष अशोक पहाडी र सर्लाहीका अध्यक्ष अच्यूतम सापकोटाले प्रेस चौतारीको लोगो सहितको झण्डा ओढाएर संगठनको तर्फबाट सम्मान प्रकट गर्दै अनितम बिदाई गरेका थिए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले एक बिज्ञप्ति जारी गरी उहाँको निधनले एक कुशल मेशहनती निडर जुझारु एवं उर्जाशिल पत्रकार गुमाएको उल्लेख गरेको छ । संगठनका महासचिव रामप्रसाद दाहालद्वारा जारी बिज्ञप्ति मार्फत स्व।महत प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।