रौतहट– रौतहटको गरुडा नगरपालिकाले छात्राहरूको विद्यालय शिक्षामा आकर्षण र नियमित उपस्थिति बढाउन साइकल वितरण कार्यक्रम सुरु गरेको छ। नगरपालिकाका नगरप्रमुख कन्थमनी प्रसाद जयसवालको अगुवाइमा गरिब तथा दलित समुदायका छात्राहरूलाई लक्षित गरी साइकल वितरण अभियान सञ्चालन गरिएको हो।
कार्यक्रमको सुरुवात गरुडा नगरपालिका–८ स्थित श्री रामचन्द्र माध्यमिक विद्यालयबाट गरिएको हो, जहाँ कक्षा ८ मा अध्ययनरत २२ जना छात्राहरूलाई साइकल तथा विद्यालय झोला (ब्याग) प्रदान गरिएको छ। साथै विद्यालयको मागअनुसार डेस्क र बेञ्च समेत उपलब्ध गराइएको छ।
बुधवार विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै नगरप्रमुख जयसवालले भने, “घरबाट विद्यालयसम्मको दूरी लामो हुँदा छात्राहरूलाई आवतजावतमा कठिनाइ भइरहेको थियो। अब साइकल पाएपछि उनीहरूको शैक्षिक यात्रा सहज हुनेछ र नियमित उपस्थितिमा सहयोग पुग्नेछ।”
उनले नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा दलित छात्राहरूलाई चरणबद्ध रूपमा साइकल वितरण गरिने जानकारी पनि दिए। शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले विद्यालयको अवलोकन गर्दै आवश्यक भौतिक संरचना, शिक्षक अभाव र शैक्षिक सामग्रीको व्यवस्थापनमा पनि नगरपालिकाले चासो देखाएको उनले स्पष्ट पारे।
कार्यक्रममा शिक्षा शाखाका सह–संयोजक शेख चाँद अलीले पनि बोले। उनले विद्यालय टाढा भएकाले कतिपय छात्राहरूले पढाइ छाड्ने अवस्था आउन सक्ने समस्याको अन्त्यका लागि साइकल वितरण कार्यक्रम ल्याइएको बताए। “यस अभियानबाट छात्राहरूको शैक्षिक यात्रा नियमित हुनेमा हामी विश्वस्त छौं,” उनले भने।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरी शंकर, नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य शेख करिमुल्लाह, समाजसेवी श्यामसुन्दर सहनी, विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर ठाकुर, शिक्षक–शिक्षिका, अभिभावक, स्थानीय बासिन्दा तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
साइकल प्राप्त गरेपछि छात्राहरू खुशी व्यक्त गर्दै नगरप्रमुख जयसवालको प्रशंसा गरेका थिए। उनीहरूले अब दैनिक यात्रा सहज हुने र पढाइमा थप रुचि बढ्ने बताएका छन्।
गरुडा नगरपालिकाको यो कदम शिक्षामा पहुँच, समावेशिता र गुणस्तर वृद्धिको दिशामा एक उदाहरणीय प्रयासका रूपमा हेरिएको छ।