वैदेशिक रोजगारीमा बितेको १० महिनामै एक हजार २१७ जनाको मृत्यु भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना अर्थात् २०८१ साउन १ गतेदेखि २०८२ वैशाख मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका क्रममा उनीहरुले ज्यान गुमाएका हुन् ।
“पछिल्लो १० महिनामा एक हजार २१७ जना नेपालीको मृत्यु वैदेशिक रोजगारीका क्रममा भएको विवरण प्राप्त भएको छ,” वैदेशिक रोजगार बोर्डको सचिवालयका निर्देशक तथा प्रवक्ता गुरुदत्त सुवेदीले बाह्रखरीसँग भने, “मृत्यु भएकाहरुको शव परिवारसम्म पुर्याउने र परिवारलाई क्षतिपूर्ति रुकम उपलब्ध गराउने काम भइरहेको छ ।”
बोर्डको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा प्रत्येक महिना औसतमा १२१ जनाभन्दा बढीको मृत्यु वैदेशिक रोजगारीका क्रममा भएको छ । अर्थात् दैनिक चारजना भन्दा बढी नेपालीको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा हुने गरेको छ ।
वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढीको मृत्यु युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब, मलेसिया, कतार, कुवेत, ओमान र बहराइनमा हुने गर्छ । यूएईस्थित नेपाली दूतावासका अनुसार बितेको १० महिनामा वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा २६१ जना नेपालीको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीका क्रममा हुने मृत्युमध्ये २१.४४ प्रतिशतको मृत्यु यूएईमा हुने गरेको छ । निर्देशक सुवेदीकाअनुसार मृत्यु भएका र प्रक्रिया पुरा गरिसकेका मृतकका परिवारलाई पछिल्लो १० महिनामा आर्थिक सहायता स्वरुप ५८ करोड ९९ लाख ५० हजार रुपैयाँ उपलब्ध गरिसकिएको छ ।
“यो त प्रक्रिया पूरा गरिसकेका पीडित परिवारलाई उपलब्ध गराइएको रकम हो । प्रक्रिया पुर्याउने क्रममा रहेकालाई उपलब्ध गराउनुपर्ने समेत जोड्ने हो भने यो रकम ८८ करोडभन्दा बढी हुन आउँछ,” निर्देशक सुवेदीले जानकारी दिए ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३ मा वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्ने, अलपत्र परेका कामदारलाई स्वदेश फिर्ता गराउने, क्षतिपूर्ति दिने, कामदारको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने, वैदेशिक रोजगारको क्रममा मृत्यु भएका कामदारको शव नेपाल ल्याउनेलगायतका वैदेशिक रोजगारमा गएका कामदारको हकहितको लागि वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरिने उल्लेख छ । यसैअनुरुप वैदेशिक रोजगार कल्याणकारी कोष २०६४ फागुन ८ गते स्थापना गरिएको थियो ।
यसको लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारले आफ्नो करार अवधिअनुसार कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । तीन वर्ष करार अवधि भएकाले एक हजार ५०० सय रुपैयाँ र तीन वर्षभन्दा बढी करार अवधि हुनेले दुई हजार ५०० रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ ।
यदि वैदेशिक रोजगारीका क्रममा कुनै कामदारको मृत्यु भएमा कल्याणकारी कोषमा जम्मा हुने उक्त रकमबाट कामदारको परिवारलाई बोर्डले सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गर्ने व्यवस्था थियो ।
वैदेशिक रोजगार (छैटौं संशोधन) नियमावली, २०८१ मा यो रकमलाई बढाएर १० लाख पुर्याइएको छ । सोही कोषबाट मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप आर्थिक सहायता उपलब्ध गराइन्छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र वैदेशिक रोजगारीमा जानेहरुबाट कोषमा एक अर्ब ९ करोड ४० लाख रुपैयाँभन्दा बढी जम्मा भएको थियो ।
वैदेशिक रोजगारीका क्रममा घाइते, विरामी, अङ्गभङ्ग हुने कामदारलाई पनि बोर्डले सोही कोषबाट आर्थिक सहायता उपलब्ध गराउँछ । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो १० महिनामा वैदेशिक रोजगारीका क्रममा ५७१ जना अंगभंग तथा गम्भिर बिरामी भएका छन् । उनीहरुलाई पनि आर्थिक सहायता कोषबाट उपलब्ध गरिएको छ ।
बोर्डका अनुसार उक्त अवधिमा ३७५ जनाको शव झिकाउने, ८६३ जनाको शव ढुवानी गर्ने काम पनि भएको छ ।