वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – २७ स्थित उदयपुर घुर्मीमा निर्माणाधीन कालोपत्रे सडकको महानगर प्रमुख राजेशमान सिंहले निरीक्षण गरेका छन् । हाल सो सडकमा कालोपत्रे प्रक्रिया अघि बढाउन अतिक्रमण हटाउने कार्य र सडकको बेस निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
निरीक्षणको क्रममा महानगर प्रमुख सिंहले निर्माण कार्यको गुणस्तरप्रति ध्यान दिनु पर्नेमा जोड दिए । साथै, समयमै कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
त्यस्तै वडा नम्बर २१ परवानीपुरमा निर्माणाधीन सडकको पनि महानगर प्रमुख सिंहले आजै निरीक्षण गरेका छन् । वडाको मुख्य सडकबाट पटेल नगरतर्फ जाने सडक निर्माणमा भएको अवरोध हटाएर अहिले निर्माणको काम धमाधम भइरहेको छ ।
यस्तै वडा नम्बर १४ स्थित सानो पिप्रा बौद्धिमाईमा सम्पन्न भएको कालो पत्रे सडकको पनि प्रमुख सिंहले निरीक्षण गरेका छन् ।
सडक निरीक्षणको क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नम्बर २७ का अध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । स्थानीय बासिन्दाहरूले सडक निर्माणले आवागमन सहज हुनुका साथै आर्थिक र सामाजिक विकासमा समेत टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाले विभिन्न वडाहरूमा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, ढल र खानेपानी जस्ता परियोजनाहरूमा तीव्रता दिएको छ । महानगरको ग्रामीण क्षेत्रलाई बजारसँग जोड्न अहिले हरेक वडामा कालो पत्रे सडक निर्माणको काम तीव्र रूपमा भइरहेको छ ।