जनकपुरधाम । जनकपुरधामस्थित रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतोलाई प्रहरीले ठगी तथा आपराधिक विश्वासघात आपराधिक लाभ सम्बन्धी कसुर आरोपमा पक्राउ गरेको छ ।
धनुषा जिल्ला अदालतको आदेशपछि प्रहरीले मंगलबार काठमाण्डौबाट पक्राउ गरी सञ्चालक महतोलाई विहान ल्याइएको धनुषा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले सञ्चलाक मध्येका पवन महतोलाई पक्राउ गरेको जानकारी दिए ।
पवन महतोका बुवा बलराम महतो र उनका भाई रमणविरूद्ध पनि धनुषा प्रहरीले पक्राउ गर्न खोजे पनि उनीहरु दुबै बुवा बलराम र अर्का छोरा रमण भने फरार रहेको धनुषा प्रहरीका उपरीक्षक रेग्मीले बताए ।
जेठ ६ गते धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । रमण कन्स्ट्रक्सनका संस्थापक बलराम महतो, उनका छोरा रमण फरार रहे पनि उनका अर्का छोरा पवन भने पक्राउ परेका छन् ।
उनीहरुमाथि ठगी तथा आपराधिक विश्वासघात आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । मधेश प्रदेश सरकारले दिगहवा लोखरम रोड निर्माणको लागि रमण कन्स्ट्रक्सन र इन्फ्रास्ट्रक्चर एस एन्ड बी प्रालिले संयुक्त रूपमा काम गर्ने सम्झौता गरेको थियो ।
संयुक्त रूपमा काम गरे पनि एस एन्ड बी प्रालिका सञ्चालक सन्तोकुमार यादवले ९ करोड २१ लाख रुपैयाँ र ८ करोड ९७ लाख रुपैयाँको बैंक ग्यारेण्टी राखेका थिए । एक करोड ३४ लाखको दुई वटा र एक करोड ३३ दाखको दुई वटा एडभान्स पेमेन्ट बैंक ग्यारेन्टी राखिएको थियो ।
ठेक्काको काम सञ्चालन भइरहेको बेलामा रमण कन्स्ट्रक्सनले आफ्नो अनुकूल फाइदा हुने गरी बैंक ग्यारेन्टी रकम झिकेको भन्दै एस एन्ड बी प्रालिका सञ्चालक यादवले धनुषा प्रहरीमा जाहेरी दिएका थिए ।
ग्यारेन्टी रकम कुनै कारणले फिर्ता लिनु परेको भन्दै काठमाण्डौको चाबहिलस्थित बैंक शाखाबाट रमण महतोको हस्ताक्षरबाट सो रकम झिकिएको थियो । त्यसबारे एस एण्ड बी प्रालिलाई जानकारी नदिएको सञ्चालक यादवको आरोप छ
जिल्ला प्रहरी परिसर काठमाण्डौले पवन महतोलाई मंगलबार पक्राउ गरिएको थियो । उनले यसको अनुसन्धान धनुषा प्रहरीले नै गर्ने छ ।