देवेन्द्र यादव
रौतहटको कटहरिया नगरपालिका–१, भसेरवामा मंगलबार साँझ एक नवविवाहित महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धान र माइती पक्षका आरोप अनुसार यो एक योजनाबद्ध हत्या भएको आशंका गरिएको छ।
मृतक २२ वर्षीया आल्का यादव, विजयपुर नगरपालिका–९, बडहरवा निवासी स्व। रामनारायण यादवकी छोरी हुन्। करिब एक वर्षअघि मात्र उनको विवाह कटहरिया–१ निवासी अन्दाजी २६ वर्षीय अंकेश यादवसँग भएको थियो। विवाहपछिको जीवन भसेरवास्थित श्रीमानको घरमै बिताइरहेकी आल्काको मंगलबार बेलुकी करिब ७ बजेतिर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
इलाका प्रहरी कार्यालय कटहरियाका अनुसार आल्कामाथि घरेलु झगडापछि कुटपिट गरिएको र त्यसपछि गँड्ती ९पसलमा अन्न कुट्ने उपकरण० ले च्यापेर हत्या गरिएको प्रारम्भिक अनुमान छ। घटनापछि श्रीमान अंकेश यादव फरार छन् भने उनका बुबा पुकार राय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य परिवारका सदस्यहरूको भूमिकाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
मृतकका माइती पक्षले आल्कामाथि निरन्तर शारीरिक र मानसिक यातना दिइँदै आएको बताउँदै आएका छन्। उनीहरूका अनुसार परिवारका सबै सदस्यहरूको मिलोमतोमा नै यो जघन्य हत्या भएको हो। ‘‘हाम्रो छोरीमाथि विवाहपछि निरन्तर यातना दिइएको थियो, अहिले योजनाबद्ध रूपमा हत्या गरियो,’’ मृतकका दाजुले स्थानीय पत्रकारसँगको कुराकानीमा बताए।
शवलाई पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ। पोष्टमार्टम रिपोर्टले थप तथ्य खुलाउने विश्वास प्रहरीले व्यक्त गरेको छ। घटनास्थलको मुचुल्का तयार गरी थप प्रमाण संकलन भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। यस घटनापछि स्थानीयवासीहरूमा शोक र आक्रोशको माहोल छ। महिलामाथिको हिंसा र घरेलु उत्पीडनको यो घटनाले समाजमा गहिरो प्रभाव पारेको छ। स्थानीय अधिकारकर्मीहरूले यस घटनामा संलग्न सबैलाई कारवाही गर्न माग गरेका छन्।
प्रहरीका वरिष्ठ सई विनोद राना मगरका अनुसार फरार रहेका अंकेश यादवको खोजी कार्य तीव्र पारिएको छ। ‘‘यो घटनालाई हामी अत्यन्त गम्भीरताका साथ लिँदैछौं। दोषीलाई कानुनी कठघरासम्म ल्याइनेछ,’’ उनले भने। यो घटना महिलामाथिको हिंसा र घरेलु शोषणका विरुद्धमा कडाइका साथ कानुनी कदम चाल्नुको आवश्यकता दर्शाउने एउटा उदाहरण बनेको छ। पीडित परिवारलाई न्याय दिलाउन प्रहरी र सरोकारवालाहरूको ध्यान केन्द्रित हुनुपर्ने स्थानीयको माग छ।