काठमाडौं : सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपक्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी जारी राखेको छ । त्यसक्रममा एक जनाको शव भेटिएको छ । उनको सनाखत हुन बाँकी छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा शुक्रबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए । राजवंशी श्रीअन्तु गण ईलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्वर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।
उनीहरुसहित ५६ जनाको टोली विहीबार ७ः४५ बजेदेखि नै विपद उद्धार अभ्यासका लागि कोशी नदीमा खटिएको थियो । सो क्रममा दिउँसो ३ बजेर १० मिनेटमा उनीहरु बेपत्ता भएका थिए ।
उनीहरुको खोजीमा दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, ६ नम्बर गण सप्तरी र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विशेष तालिमप्राप्त गोताखोरसहित करिब ६० जनाको सुरक्षा फौज खटाइएको छ ।
उनीहरुको खोजी कार्यलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । त्यसका लागि शुक्रबार बिहान दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपीको कमान्डमा ४ जना गोताखोर सहित ३५ जनाको टोली खटाइएको छ । यसैगरी ६ नम्बर गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त सहित डिएसपीको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको छ ।
थप खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जना गोताखोरलाई पनि बिहिबार राति १०ः४५ बजे त्यसतर्फ पठाइएको छ ।
२०६९ सालमा बंगलादेशबाट गोताखोर तालिम लिएका भण्डारी त्यसयता नेपालमा सञ्चालित गोताखोर तालिमका प्रशिक्षक हुन् । उनले सप्तकोशीको घटना, पानीको बहाव र अन्य कुरा फिल्डमा नै नहेरी भन्न नसकिने बताएका छन् ।
बेपत्ता भएका दुवै जनाले २०८० र ०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए । त्यसपछि उद्धारका लागि विभिन्न ठाउँमा खटिएका थिए ।
विहीबार पनि उनीहरु मनसुनजन्य विपद् उद्धारको पूर्वतयारी स्वरुप गरिएको सिमुलेसन अभ्यासमा सहभागी भएका थिए । यस प्रकारका अभ्यास अहिले देशभर नै भइरहेका छन् ।