काठमाण्डौ – सरकारले आजदेखि २० वर्षे वृक्षरोपण महाअभियानको शुरुआत गर्दैछ । ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा गरेको सरकारले सन् २०४५ सम्म यो अभियानलाई निरन्तरता दिने भएको छ ।
अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर आजदेखि २० वर्षे महाअभियानको शुरुआत गर्न लागिएको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जानकारी दिनुभयो ।
वृक्षरोपण महाअभियानको उद्घाटन ललितपुरको गोदावरीमा रहेको जिल्ला वन कार्यालय परिसरमा हुँदैछ ।
वनमन्त्री शाहीका अनुसार महाअभियानका क्रममा नेपालको पूर्ण जनसङ्ख्या अनुसार एक व्यक्ति एक बिरुवा पर्ने गरी हरेक वर्ष तीन करोड बिरुवा २० वर्षसम्म निरन्तर रोपण गरिने छ ।
असार १४ देखि साउन १५ सम्म एक महिना उपयुक्त जग्गामा वृक्षरोपण गरिनेछ । त्यसअनुसार २० वर्षसम्म ६० करोड बिरुवा रोपिनेछ ।
विशेषगरी स्थानीय परम्परागत र फलफूलजन्य बिरुवा रोपिनेछ । रोपिएका हरेक बिरुवामा नागरिकको स्वामित्व र संरक्षण हुने गरी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य छ ।
सरकारले जैविक विविधता संरक्षण, हिमाल संरक्षण र कार्बन उत्सर्जन कम गर्ने नीति लिएको छ । नेपालको वन क्षेत्रले अहिले कुल भू–भागको झण्डै ४५ प्रतिशत ढाकेको अनुमान छ ।
महाअभियान अन्तर्गत सङ्घ, प्रदेश र पालिकाको सहकार्यमा वृक्षरोपण हुनेछ । त्यसका लागि सम्बन्धित प्रदेश तथा पालिकाको जिल्ला वन कार्यालयका नर्सरीमा निःशुल्क बिरुवा प्रदान गरिने छ ।
गएको जेठ २ गतेदेखि ४ गतेसम्म काठमाण्डौमा सम्पन्न सगरमाथा संवादको आह्वान अनुसार यो महाअभियान सञ्चालन गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो ।