काठमाडौँ । सुन्दर सपना र घरपरिवार पाल्ने जिम्मेवारी बोकेर वैदेशिक रोजगारका लागि गएका २४ जना युवा सम्झनामा सिमित भएका छन् ।
देशमा रोजगारीको अवसर नपाएर घरको आर्थिक अभाव टार्ने विकल्पको रुपमा विदेशिएका सप्तरीका २४ जना युवा अब सम्झनामा मात्रै रहेका हुन् । वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका उनीहरुमध्ये कोही बासकमा फर्किए भने कोहीको अहिलेसम्म सम्पर्कमा आएका छैन ।
आर्थिक वर्ष २०८१र८२ को जेठसम्ममा सप्तरीबाट १७ हजार एक सय २२ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् । जसमा १६ हजार आठ सय ९३ पुरुष र दुई सय २९ महिला छन् । यसमध्ये २४ जनाको मृत्यु भएको छ भने पाँच सय ९४ जना ठगीमा परेका छन् ।
वैदेशिक रोजगारकै क्रममा ज्यान गुमाउनेहरुमा सप्तरीको खडक नगरपालिका, तिरहुत गाउँपालिका र रुपनी गाउँपालिकाका तीन–तीन जना छन् ।
यस्तै डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका, महादेवा गाउँपालिका र बलान बिहुल गाउँपालिकाका दुई–दुई तथा राजविराज नगरपालिका, सप्तकोशी नगरपालिका, शम्भुनाथ नगरपालिका, राजगढ गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक–एक जना नेपाली युवाले विदेशी भूमीमा ज्यान गुमाएको सुरक्षित आप्रवासन (सामी) का जिल्ला कार्यक्रम संयोजक राजेन्द्र कुमार यादवले जानकारी दिए ।
उनले जिल्लाबाट वैदेशिक रोजगारीका नाममा विभिन्न व्यक्ति, एजेन्ट र म्यानपावर कम्पनीहरुबाट पाँच सय ९४ ठगीमा परेको बताए। गत आर्थिक वर्ष २०८०र०८१ मा सप्तरीबाट रोजगारीका लागि एक सय ६३ महिला र १२ हजार तीन सय ९४ पुरुष गरी कुल १२ हजार पाँच सय ५७ जना विदेशिएका थिए ।