काठमाडौं । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ साउन ६ देखि खुल्ने भएको छ ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई पहिलो चरणमा आईपीओ खुल्न लागेको हो । जारी पूँजी २ अर्ब ८३ करोडको २०.७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा निष्कासन हुन लागेको छ ।
अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ निष्कासन हुनेछ । जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ६६ हजार कित्ता छुट्याइएको छ । बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
आयोजना प्रभावितका रुपमा तनहुँ जिल्लाका बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नम्बर १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका ७ का स्थानीय पर्दछन् ।
त्यस्तै वैदेशिक रोजगारमा गएकालाई ५ लाख २९ हजार ४ सय कित्ता छुट्याइएको छ । वैदेशिक रोजगारमा रहेकाले छिटोमा साउन ९ गतेसम्म र सो दिनसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यस्तै आयोजना प्रभावित स्थानीयले छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित स्थानीयले केबुलकारको कार्यालय, आँबुखैरैनी गाउँपालिका कार्यालय, भानु नगरपालिका १ कार्यालय तथा पालुङटार नगरपालिका ७ को कार्यालयमार्फत फारम लिन र तिनै कार्यालयमा पनि बुझाउन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाले भने अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको मुख्य बिजनेस भनेको केबुलकार सेवा हो । बन्दीपुरमा केबुलकार व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ । जसले दायित्व वहनमा कम्पनीलाई मध्यमस्तरको संकेत गर्दछ ।
ब्याजसहित आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड छ । गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ८४ पैसा ऋणात्मक छ भने सञ्चित नोक्सानी १० करोड ६ लाख रुपैयाँ छ ।