काठमाडौं । आईपीएल टिम मुम्बई इन्डियन्सको स्वामित्वमा रहेको अमेरिकी टिम एमआई न्युयोर्कले मेजर लिग क्रिकेटको उपाधि जितेको छ । फाइनलमा साविक विजेता वासिङटन फ्रीडमलाई ५ रनले हराउँदै एमआई दोस्रोपटक च्याम्पियन बनेको हो ।
एमआईले दिएको १८१ रनको लक्ष्य पछ्याएको वासिङटनले २० ओभरमा ५ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो । रचिन रविन्द्रले ७० तथा ग्लेन फिलिप्सले अविजित ४८ रन बनाएपनि पर्याप्त हुन सकेन ।
शून्य रनमै २ विकेट गुमाएको वासिङटनका लागि रविन्द्र र ज्याक एडवार्ड्सले शानदार साझेदारी गरेका थिए । ज्याकले ३३ रन बनाए ।
अन्तिम ओभरमा १२ रन आवश्यक रहँदा रुसिल उगार्करले सुरुवाती ३ बलमा २ रन मात्र दिए भने चौथो बलमा कप्तान म्याक्सवेलको विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एमआईले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । ओपनर क्विन्टन डिककले सर्वाधिक ७७ रन बनाएका थिए । त्यस्तै मोनांक पटेलले २८ तथा कुँवरजित सिंहले अविजित २२ तथा कप्तान निकोलस पूरनले २१ रन बनाए ।
वासिङटनका लागि लकी फर्गुसनले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर, ग्लेन म्याक्सवेल, इयान हल्याण्ड र ज्याक एडवार्ड्सले १-१ विकेट लिए ।
वासिङटनले सिजनमा शानदार प्रदर्शन गरेपनि फाइनलमा भने चुकेको छ । एमआई भने खराब सुरुवातका बाबजुद प्लेअफमा छनोट भएर त्यसयता अपराजित रह्यो ।
प्रतियोगिताको पहिलो सिजनको उपाधि एमआईले नै जितेको थियो भने दोस्रो सिजन गत वर्ष वासिङटनले जितेको थियो ।