मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले बहुप्रतिक्षित ‘श्री रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला’ जनकपुरमा निर्माण हुने औपचारिक घोषणा गरेका छन्। उनले यस परियोजनालाई प्रदेशको गौरवको योजनाूका रूपमा अगाडि बढाइने बताउँदै, चाँडै टेण्डर प्रक्रिया सुरु हुने जानकारी दिएका छन्।
रंगशाला निर्माणका लागि गुठी संस्थानसँग समन्वय गरी वार्षिक ५० लाख रुपैयाँ लिज माग गरिएकोमा, सो रकम घटाएर २४ लाख ९५ हजारमा सहमति जुटाएर भुक्तानीसमेत गरिएको मन्त्री जयसवालले बताएका छन्। यस अवसरमा उनले मुख्यमन्त्री, संघीय तथा प्रदेश मन्त्रीहरू, जनप्रतिनिधि, खेलकर्मी र अभियन्ताहरूलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन्।
तर जनकपुर केन्द्रित यो योजनालाई लिएर मन्त्री जयसवालको गृह जिल्ला पर्सामा भने चर्को असन्तुष्टि देखिएको छ। वीरगञ्जस्थित नारायणी रंगशाला जुन नेपालकै दोस्रो ठूलो रंगशालाको रूपमा चिनिन्छ — संरक्षण अभावमा जीर्ण बन्दै गएको स्थानीयहरूको गुनासो छ।
स्थानीय खेलकर्मी र नागरिक समाजको आरोप
स्थानीय खेलाडी तथा खेल संघहरूले नारायणी रंगशालाको मर्मत तथा स्तरोन्नतिको माग पटक–पटक गरिए पनि, त्यसतर्फ प्रदेश सरकारले कहिल्यै ध्यान नदिएको आरोप लगाएका छन्। “निरीक्षणका नाममा फोटोसुट हुन्छ, तर कार्यान्वयनको तहमा बजेट नै छुट्याइँदैन,” खेलकर्मीहरूको भनाइ छ।
वीरगञ्जवासीमा बढ्दो असन्तोष
‘जनकपुरप्रति मात्र प्राथमिकता, वीरगञ्जसँग विभेद’ भन्ने सन्देशले सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म चर्किएको छ। संघीय सरकारको बजेट तथा प्रदेशको प्राथमिकताबाट समेत नारायणी रंगशाला ओझेलमा परेको भन्दै असन्तोष बढेको छ। खेलकर्मीहरूको माग छ — “वीरगञ्ज मधेश प्रदेशको औद्योगिक राजधानी हो। यहाँको रंगशालालाई पनि समान दृष्टिकोणले हेर्नु आवश्यक छ।”
राजनीतिक आरोप पनि थपिँदै
नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले पनि नारायणी रंगशालाको बेवास्तालाई लिएर मन्त्री जयसवालमाथि कडा आलोचना गरेका छन्। यादवका अनुसार, “नेपालकै दोस्रो ठूलो रंगशालामा पटक–पटक बजेटको माग गर्दा पनि सुनुवाइ भएन। जिल्लाकै मन्त्री हुँदा पनि यस्तो उपेक्षा हुनु दुःखद हो।”
“भाषणमा गफ ठुलो तर बजेट दिनुपर्ने बेला बेवास्ता गर्ने प्रवृत्तिले उनको चरित्र प्रस्ट भएको छ,” यादवको भनाइ छ। नारायणी रंगशालाको बजेट बिनयोजन नगर्ने मुद्दा मन्त्री जयसवालको राजीनामा माग गर्ने प्रमुख कारणमध्ये एक भएको यादवले स्पष्ट पारे।
संतुलनको आवश्यकता
एकातर्फ जनकपुरमा सीताराम स्वयम्बरु को झल्को दिने भव्य रंगशालाको योजना अघि बढिरहेको छ भने अर्कातर्फ वीरगञ्जलगायत अन्य सहरका विद्यमान खेल संरचना बेवास्तामा परेको विश्लेषण भइरहेका छन्। विज्ञहरूका अनुसार, प्रदेश नीति तथा योजनामा सन्तुलन कायम नगर्दा क्षेत्रीय असमानता झन् बढ्न सक्छ।
