मन्त्रिपरिषद् विस्तारअन्तर्गत आज थपिने चार मन्त्रीले साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्ने भएका छन्। नयाँ मन्त्रीहरूको शपथका लागि शीतल निवासमा तयारी पूरा भएको स्रोतले जनाएको छ।प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा पठाएको नामअनुसार डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या,खगेन्द्र सुनार श्रम तथा रोजगार,बब्लु गुप्ता युवा तथा खेलकुद,गणपति लाल श्रेष्ठ भूमिसुधार मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। श्रेष्ठलाई यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तोकिएको थियो। तर अन्तिम क्षणमा निर्णय परिमार्जन गरी उनीलाई भूमिसुधार मन्त्रालयको जिम्मा दिने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।
यी हुन् शपथ लिन लाग्ने नयाँ मन्त्रीहरू
डा. सुधा शर्मा गौतम
पूर्व स्वास्थ्य सचिव तथा स्त्रीरोग विशेषज्ञ। ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक लेखन। अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको पृष्ठभूमिमा अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाम हटेपछि उनी मन्त्री बन्न लागेकी हुन्।
गणपति लाल श्रेष्ठ
सम्पदा संरक्षण अभियन्ता। रानीपोखरीदेखि बसन्तपुर दरबार क्षेत्रसम्मको संरक्षण अभियानमा सक्रिय। अक्सफोर्ड विश्वविद्यालयमा समेत नेपालको सम्पदा संरक्षणबारे प्रस्तुति गरिसकेका छन्।
खगेन्द्र सुनार
दलित अधिकारकर्मी। संवैधानिक पदमा दलित प्रतिनिधित्व सुनिश्चित गर्न नेल ठोकी आन्दोलन गरेका थिए। रुकुम पश्चिम हत्याकाण्डपछि निरन्तर न्यायको अभियानमा।
बब्लु गुप्ता
सामाजिक अभियन्ता। कोभिडमा निःशुल्क खाना अभियान, त्यसअघि कपडा बैंक सञ्चालन। ‘हन्ड्रेड ग्रुप’ मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका छन्।
यीमध्ये श्रेष्ठ र गुप्ता अनलाइनखबरको ‘४० वर्ष मुनिका ४० प्रभावशाली युवा’ सूचीमा समेत परेका थिए।