काठमाडौं । गोदावरीमा सवा एक अर्ब रुपैयाँ लगानीमा गोदावरी फरेष्ट होटल निर्माण भइरहेको छ । गोदावरी फरेष्ट होटल प्रालिले एक अर्ब २७ करोड ७० लाख रुपैयाँ लगानीमा होटल बनाउने बनाइरहेको छ।
सन् २०१६ मा दर्ता भएको होटलको अहिले निर्माण कार्य भइरहेको हो । कम्पनीले ५२ हजार २२ स्क्वायरफिटमा होटल निर्माण गरिरहेको छ । होटलमा ८३ वटा कोठाको सुविधा हुनेछ । होटलमा ३ वटा डिलक्स सुइट रुम, १९ सुइट रुम, १३ वटा डिलक्स (ट्वीन), १० वटा डिलक्स (किङ) रुम र ३८ वटा डिलक्स रुमको सुविधा हुनेछ ।
होटलमा रेष्टुरेन्ट, जिम एण्ड हेल्थ क्लब, स्वीमिङ पुल, स्पा र विवाह र ब्याङ्क्वेट सुविधा हुनेछन् । होटल निर्माणका लागि कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८७ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८२ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको छ ।
होटल निर्माणका लागि कम्पनीले कर्जा स्वपूँजी अनुपात ७०:३० को अनुपात राखेको छ । हालसम्ममा कम्पनीले कर्जाको लागि सबै कार्य सम्पन्न गरिसकेको छ भने लगानीकर्ताले ३२ करोड ५० लाख रुपैयाँ जुटाइसकेको छ ।
कम्पनीअनुसार होटलको निर्माण काम अन्तिम चरणमा पुगेको छ कम्पनीले आगामी अक्टोबर (असोज अन्तिम) देखि व्यवसायिक कारोबार गर्ने अपेक्षा गरेको छ । होटलमा ६ जनाको स्वामित्व रहेको छ । कम्पनीको अध्यक्ष कुशेन्द्रबहादुर राउत हुन् । होटलको व्यवस्थापन अमेरिकी कम्पनी ट्राभलिटी कर्पोरेशनको बेस्ट वेस्टर्न होटल एन्ड रिसोर्टले सञ्चालन गर्ने छ । यो बेस्ट वेस्टर्नको व्यवस्थापनमा संसारमा १ सयभन्दा धेरै देशमा विभिन्न होटोल सञ्चालित छन् ।