बीरगंज महानगरपालिका–११ मा अवस्थित बीरगंज कलेजले कक्षा ११ मा हालै भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरी एक दिने ओरियन्टेशन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम शनिबार एपेक्स म्यानेजमेन्ट कलेजको सभा हलमा आयोजना गरिएको थियो।
कार्यक्रममा बीरगंज कलेज सञ्चालक समिति अध्यक्ष डा। दिपेन्द्र चौधरीको अध्यक्षता रहेको थियो भने बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
प्रमुख अतिथि गौतमले कलेजको ‘कमाउँदै पढ्ने’ अवधारणालाई प्रेरणादायक भन्दै विद्यार्थीहरूलाई सही निर्णयका लागि बधाई दिएका थिए। उनले कलेजको शैक्षिक गुणस्तर, अनुशासन, इतिहास र भविष्य योजनाबारे जानकारी दिए।
ओरियन्टेशन कार्यक्रममा बिषयगत शिक्षक–शिक्षिकाहरूले कलेजको शैक्षिक प्रणाली, मूल्यांकन विधि, अतिरिक्त क्रियाकलाप, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर कक्षा, ई–लर्निङ र खेलकुद सुविधाबारे विद्यार्थीलाई विस्तृत जानकारी प्रदान गरे।
कार्यक्रममा कलेजका प्रशासन प्रमुख सुरेश चौधरी, परीक्षा संयोजक डी।के। जैसवाल, सहायक क्याम्पस प्रमुख रुदल ठाकुर लगायतले आफ्ना धारणा प्रस्तुत गर्दै विद्यार्थीलाई अनुशासन, निरन्तर अभ्यास र सकारात्मक सोचको महत्त्वमा जोड दिए।
झण्डै २०० भन्दा बढी नवआगन्तुक विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीलाई स्वागतस्वरूप खादा ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य बीबीएसकी विद्यार्थी सुनिता साहले दिएकी थिइन् भने सहजिकरण कृष्ण पासवानले गरेका थिए।