वीरगञ्ज : लामो समयदेखि वर्षा नहुँदा मधेशका किसानहरू गम्भीर संकटमा परेका छन्। रोपाइँ सम्पन्न भइसकेका खेतहरूमा समेत चिरा परेका छन्, सिँचाइको मुख्य स्रोत खोलानाला, इनार र चापाकलहरू समेत सुकेका छन्। यस्तो कठिन परिस्थिति थप नबिग्रियोस् भन्ने उद्देश्यले सरकारले मधेश प्रदेशलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।
धेरैजसो जिल्लाहरूमा एक महिनादेखि पर्याप्त पानी परेको छैन। मौसमविद्हरूले वर्षाको सामान्य चक्रमा अवरोध आएको बताइरहेका छन् भने स्थानीय कृषकहरू भने दैनिक जीवनमै असर महसुस गरिरहेका छन्।
जनजीवनमा पनि असर
खानेपानीको हाहाकारसँगै पानी पिउन र पशुचौपायाका लागि पानी जुटाउन समेत समस्या भएको ग्रामीण भेगका बासिन्दाहरू बताउँछन्। कतिपय स्थानमा विद्यालयहरूले समेत कक्षा सञ्चालनमा कठिनाइ भइरहेको जनाइएको छ।
सामान्यतया गाउँघरमा प्रयोग हुने चापाकल, इनार र डिप बोरिङ जस्ता साना जलस्रोतहरू पनि सुकेका छन्। दैनिक जीवनका लागि आवश्यक पानी जोहो गर्न स्थानीयलाई निकै कठिनाइ भइरहेको छ। खानेपानीको अभावले जनस्वास्थ्यमा समेत असर पर्न थालेको छ। पशुपालनमा आश्रित परिवारहरूले पशुचौपायालाई खुवाउने पानी समेत पाउन छाडेका छन्।
खेती सुक्दै, बिउ नासिँदै
असारमा गरिएको रोपाइँ अहिले पूर्ण सुक्खाको चपेटामा परेको छ। धानका बिरुवाहरू बाँच्न सकेका छैनन्। सिँचाइको कुनै भरपर्दो विकल्प नभएकाले उत्पादनमा ठूलो क्षति हुने देखिएको छ।विन्दवासिनीका किसान रामबाबु पटेल भन्छन्, “धान रोपेपछि केही दिन त बाँच्यो, अब त माटो चिराचिरा परेको छ, उत्पादन नै नहुने देखिन्छ,”
“दुई बिगाहा खेतमा रोपाइँ गर्यौं, अहिले बिरुवा हेर्दा मन रुन आउँछ। पानीको रत्तिभर छाँट छैन,” -किसान रामबाबु पटेल
मधेशका अधिकांश किसान वर्षामा निर्भर छन्। यद्यपि केहीले सिँचाइका लागि इनार वा डिप बोरिङ जडान गरेका थिए, ती पनि अहिले पानी सुक्न थालेपछि काम लागेनन्। तराईका किसानहरुको लागि सिचाइको प्रमुख स्रोत रहेको गण्डक नहर रहेपनि समयमा पानी नआउदा किसानहरु मरमा परेका छन । गण्डक नहरमा पानी नछोड्दा पर्सा र बाराको धानबालीमा सिँचाइ हुन सकेको छैन। सिँचाइ नहुँदा त्यस क्षेत्रका किसान मर्कामा परेका छन्।
सरकारी घोषणा : मधेश विपद् संकटग्रस्त क्षेत्र
जलस्रोतको अभाव, कृषि संकट, र खाद्य सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै सरकारले मधेशलाई औपचारिक रूपमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, “मधेशमा उत्पन्न भएको जलस्रोतको संकट, कृषिमा परेको असर र खाद्य सुरक्षामा सम्भावित संकटलाई मध्यनजर गर्दै मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।”साथै सरकार अब चाँडै राहत वितरण र वैकल्पिक सिँचाइ सुविधा विस्तार गर्ने कार्ययोजना ल्याउने तयारीमा रहेको बताइएको छ।
यता मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनमा छिटपुट वर्षाको सम्भावना देखिएको भए पनि यसले संकट समाधान गर्न पर्याप्त नहुन सक्ने जानकारी दिइएको छ।