काठमाडौं । स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि पठाएको छ ।
विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधि प्रदेश सरकारहरुका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरुमा पुगिसकेको जानकारी दिए ।
रेबिज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न भनेका थिए ।
उनले आपूर्ति गति बढाएर तथा भावी दिनमा अभाव हुन नदिने गरी आवश्यक सबै उपाय अपनाउन अधिकारीहरुलाई बोलाएर भनेका थिए । सोही अनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरुमा दुवै प्रकारका औषधि आपूर्ति गरेको हो ।
विभागको तथ्यांकअनुसार रेबिजविरुद्ध उपयोग हुने ५१ हजार १८० डोज खोप प्रदेशमा पठाइएको छ । सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ । बागमतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंशविरुद्धको एक हजार खोप आपूर्ति भएको छ ।
यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेशमा सर्पदंशविरुद्धको भेनम खोप सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ । मागका आधारमा अन्य प्रदेशहरुमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण दिएको छ ।