काठमाडौं : रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार स्थानीय समय अनुसार ११:२५ बजेरुसको पूर्वी तटीय क्षेत्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। सुरुमा भूकम्पको तीव्रता ८.० म्याग्निच्युड मापन गरिएको थियो। 
अन्तर्राष्टिय सञ्चारमाध्यमहरुका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर भूकम्प आएको हो। स्थानीय सरकारले सुनामीको चेतावनी दिँदै सुरक्षित रहन आग्रह गरेको छ।
काम्चात्का प्रायद्वीपमा सुनामीको आउन सक्ने भन्दै गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीयलाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन्। रूसको कामचट्काका केही भागहरूमा ३-४ मिटर ९१०-१३ फिट) उचाइको सुनामी रेकर्ड गरिएको छ। 
रुसको सुदूर पूर्वमा गएको भूकम्पमा धेरै जना घाइते भएको रुसको सरकारी समाचार एजेन्सी तासले जनाएको छ। रुसको सुदूर पूर्वी तटमा सुनामी आएको जसले यसले करिब २ हजार मानिसहरू बसोबास गर्ने बन्दरगाह शहरलाई डुबानमा पारेको रुसको आपतकालीन मन्त्रालयले जनाएको छ। 
“सुनामीले बन्दरगाह शहर सेभेरो-कुरिलस्कका केही भागहरू डुबानमा पारेको थियो। त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ,” मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।
रुसी सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा शहरका भवनहरू समुद्री पानीमा डुबेको देखिन्छन्। जापानको मौसम विज्ञान निकायले पूर्वी तटको धेरैजसो भागमा सुनामी चेतावनी जारी गरेको छ। उत्तरी जापानको होक्काइडो शहरमा ३० सेन्टिमिटर (१२ इन्च) अग्ला छालहरू आइपुगेका छन् र अधिकारीहरूले त्यसपछिका छालहरू अझ ठूला हुन सक्ने चेतावनी दिएका छन्। सुनामी चेतावनीपछि जापानको क्षतिग्रस्त फुकुशिमा आणविक प्लान्टका कामदारहरू खाली गरिएको छ।   
जापानका प्रधानमन्त्रीले परिस्थितिको मूल्याङ्कन गर्न काम गरिरहेको बताएका छन्। उनले अहिलेसम्म कुनै क्षतिको पुष्टि नभएको उनले बताए।
ताइवान, फिलिपिन्स, हवाई, अलास्काको अलेउटियन टापुहरू र इन्डोनेसियाका केही भागहरूमा पनि सुनामीको चेतावनी जारी गरिएको थियो भने अमेरिकाको पश्चिमी तटको धेरैजसो भागहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।