काठमाण्डौ – आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जुलाई ३० तारिखका दिन मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्ने उद्देश्यले विश्वभर दिवस मनाउने गरिन्छ । यो वर्षको अन्तर्राष्ट्रिय नारा ‘मानव बेचबिखन सङ्गठित अपराध हो– शोषण अन्त्य गरौँ’ भन्ने तय गरिएको छ ।
नेपालले भने बेचबिखनविरुद्धको सार्क महासन्धि–२००२ लाई तत्कालीन व्यवस्थापिका संसद्बाट अनुमोदन भएको दिनको सम्झनामा २०६४ सालदेखि भदौ २० गतेका दिन मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको छ ।
जबरजस्ती श्रम, यौन शोषण र आपराधिक गतिविधिहरूमा बाध्य पार्न मानिसलाई बेचबिखनमा पार्ने गरिएको भन्दै सीमापार सहयोग, सक्रिय अनुसन्धान र बेचबिखनकर्ताहरूको पहिचान र अभियोजन गर्न प्रविधिको प्रयोगलाई बलियो बनाउन आह्वान गरिएको छ ।
साथै पीडितको अधिकारको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न जोड दिइएको छ । यौन शोषणका लागि बेचबिखनमा परेका धेरैजसो पीडितहरू र जबरजस्ती श्रमका लागि बेचबिखन गरिएकामध्ये ३५ प्रतिशत महिला छन् ।
अधिकारकर्मीहरुका अनुसार नेपालमा हिंसा परेका महिला, बेसाहारा, रोजगारीको खोजीमा भौतारिरहेका महिला तथा युवती बेचबिखनको जोखिममा पर्ने गरेका छन् । पहिला भारतमा मानव बेचबिखन हुने गर्दथ्यो भने अहिले तेस्रो देशमा मानव बेचबिखनको सञ्जाल फैलिएको छ ।