काठमाण्डौ – कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङ–बलेवा खण्डको कालाखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
चट्टानसहितको पहिरोले बाग्लुङ बजारलाई दक्षिणी क्षेत्रसँग जोड्ने बाग्लुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध भएको छ ।
करिडोर अवरुद्ध हुँदा बाग्लुङबाट गुल्मी, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिम चल्ने कुनै पनि गाडी सञ्चालन हुन सकेका छैनन् भने उत्तर मुस्ताङसम्म चल्ने गाडी बाटोमा रोकिएका प्रहरीले जनाएको छ ।
भैरहवाबाट सामान बोकेर आएका मालवाहक ट्रक पनि कालाखोलामा रोकिएका छन् । निरन्तर पहिरो झरिरहेकाले सडक खुलाउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख गङ्गाराम विकले जानकारी दिनुभयो ।
यस्तै केचना–कञ्चनजङ्घा सडक पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ । इलाम नगरपालिका–११ सोयाकको घोर्लेभीरमा गएराति खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
पहिरो खस्दा इलामको गोलाखर्क हुँदै झापा जाने सडक पनि अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि लामो दूरीको मेची राजमार्गबाट नै गाडी सञ्चालन गर्न व्यवासायीहरू बाध्य भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँका अनुसार नेपाल प्रहरी, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी, यातायात व्यवसायी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाउने काम भइरहेको छ ।