काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ। कुवेतस्थित नेपाली राजदूतावासले आइतबारसम्म १२ जना नेपालीको मृत्यु पुष्टि गरेको छ भने करिब ३० जना नेपाली विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।
गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनपछि कुवेतमा १६० जनाभन्दा बढी बिरामी परेका थिए। कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ।
रक्सी कारखानामा प्रहरीको छापा, नेपालीसहित ६७ जना पक्राउ
घटनापछि कुवेतको गृह मन्त्रालयले अवैध मदिरा उत्पादन र बिक्रीमा संलग्नहरूमाथि व्यापक सुरक्षा अभियान चलाएको छ। उक्त अभियानमा नेपाली नागरिकसहित ६७ जनालाई पक्राउ गरिएको छ। साल्मिया क्षेत्रमा एक नेपाली नागरिकलाई मेथानोलसहित पक्राउ गरिएपछि थप अनुसन्धानका क्रममा अन्य नेपालीहरूलाई समेत पक्राउ गरिएको कुवेती अधिकारीहरूले बताएका छन्।
पक्राउ पर्नेमा भारतीय र बंगलादेशी नागरिकहरू पनि छन्। कुवेती सञ्चारमाध्यमका अनुसार, मुख्य अभियुक्तहरूलाई हत्याको अभियोग लाग्न सक्ने सम्भावना छ।
सुरक्षा निकायले आवासीय र औद्योगिक क्षेत्रमा सञ्चालित ६ वटा अवैध मदिरा कारखाना पनि नियन्त्रणमा लिएको छ। साथै, अवैध बसोबास, भिसा ओभरस्टे, फरार र अन्य कानुनी उल्लङ्घनमा संलग्न २५८ जनालाई पनि विभिन्न स्थानबाट पक्राउ गरिएको छ।
उपचारपछि डिपोर्ट गर्ने तयारी
कुवेती अधिकारीहरूका अनुसार विषाक्त मदिरा सेवनपछि अस्पताल भर्ना भएका सबै आप्रवासी कामदारलाई उपचारपछि देश निकाला गरिनेछ। उनीहरूलाई उपचारपछि पक्राउ गरिने र पुनः कुवेत प्रवेशमा रोक लगाइने बताइएको छ।
कुवेतमा मदिराको उत्पादन, सेवन र बिक्री पूर्ण रूपमा प्रतिबन्धित छ। मदिरा सेवन प्रमाणित भएमा देश निकाला हुने कानुनी प्रावधान रहेको छ।
नेपाली समुदायमा बदनामीको चिन्ता
कुवेतमा हाल करिब १ लाख ६० हजार नेपाली कार्यरत छन्। यो घटनाले नेपाली कामदारहरूको छविमा गम्भीर असर परेको भन्दै चिन्ता व्यक्त गरिएको छ। पछिल्लो समय नेपालीहरू लागूऔषध ओसारपसार तथा अवैध मदिरा सम्बन्धी क्रियाकलापमा संलग्न भएको देखिएपछि कुवेतमा नेपालीहरूको छवि कमजोर बन्न थालेको दूतावासले जनाएको छ।
नेपाली राजदूतावास र कुवेतस्थित गैरआवासीय नेपाली संघ (एनआरएन) ले कुवेतमा कार्यरत सबै नेपालीलाई यस्ता गैरकानुनी गतिविधिबाट टाढा रहन र कानुनी दायरामा बस्न आग्रह गरेका छन्।
दूतावासका अनुसार कुवेतका जेलहरूमा रहेका नेपालीमध्ये ५० प्रतिशतभन्दा बढी रक्सी र लागूऔषधसम्बन्धी मुद्दामा परेका छन्।
यस घटनाले कुवेतमा नेपाली कामदारका लागि थप समस्या उत्पन्न गराउने भन्दै सबैलाई सचेत र जिम्मेवार बन्नु पर्नेमा जोड दिइएको छ।