काठमाडौं। सन् २०२० सम्म विश्वको करिब ८५ प्रतिशत जनसंख्या कुनै न कुनै धर्मसँग आबद्ध रहेको तथ्याङ्कले देखाएको छ। यसले देखाउँछ कि आधुनिक प्रविधि र वैज्ञानिक युगको प्रगति हुँदाहुँदै पनि धार्मिक आस्था र विश्वासहरू अझै पनि मानव जीवनको केन्द्रीय अङ्ग बनीरहेका छन्।
धर्म मानव समाजमा केवल आस्थाको विषय मात्र नभई सामाजिक संरचना, जीवनशैली र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा गहिरो प्रभाव पार्ने माध्यमसमेत हो। क्रिश्चियन, इस्लाम, हिन्दु, बुद्धलगायतका प्रमुख धर्महरूले सांस्कृतिक, राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेखनीय प्रभाव पारिरहेका छन्।
प्रमुख धर्महरूको जनसंख्या विवरण
ईसाई धर्म
विश्वकै सबैभन्दा ठूलो धर्म मानिने ईसाई धर्मका अनुयायीहरूको संख्या सन् २०२० मा २.३८ अर्ब थियो, जुन विश्व जनसंख्याको करिब ३१ प्रतिशत हो। यो धर्म युरोप, अमेरिका र अफ्रिकामा विशेष रूपमा फैलिएको छ। यसभित्र क्याथोलिक, प्रोटेस्टेन्ट र पूर्वी अर्थोडक्स शाखाहरू रहेका छन्।
इस्लाम धर्म
इस्लाम विश्वको दोस्रो ठूलो धर्म हो। यसको अनुयायी संख्या १.९१ अर्ब, अर्थात् विश्व जनसंख्याको २५ प्रतिशत रहेको छ। मध्य एशिया, मध्य पूर्व, पाकिस्तान, इन्डोनेसिया र अफ्रिकामा यसको प्रभाव व्यापक छ। सन् २०५० सम्म इस्लामले ईसाई धर्मको बराबरी गर्ने अनुमान गरिएको छ।
हिन्दु धर्म
तेस्रो ठूलो धर्मको रूपमा रहेको हिन्दु धर्मका अनुयायीहरू १.१६ अर्ब छन्, जुन विश्व जनसंख्याको १५ प्रतिशत हो। भारत र नेपालमा यसको गहिरो प्रभाव छ। हिन्दु धर्म वेद, उपनिषद, गीता र पुराणजस्ता शास्त्रमा आधारित छ र योग, ध्यान जस्ता अभ्यासहरू विश्वभर फैलिएका छन्।
बुद्ध धर्म
बौद्ध धर्मका अनुयायी संख्या ५०।७ करोड छन्। पूर्वी एशियामा प्रचलित यो धर्म चीन, जापान, थाइल्याण्ड, श्रीलंका, म्यानमार र तिब्बतमा विशेष रूपमा अभ्यास गरिन्छ। अहिंसा, ध्यान र निर्वाणमा केन्द्रित यस धर्मको सांस्कृतिक प्रभाव उल्लेखनीय छ।
लोक धर्म र अन्य परम्परागत विश्वासहरू
लोक धर्महरूमा विश्वास गर्नेहरूको संख्या करिब ४३ करोड छ। यसमा अफ्रिकी परम्परागत धर्म, चिनियाँ लोक धर्म, तथा आदिवासी र मूलनिवासी विश्वासहरू समावेश छन्।
अन्य साना धर्महरू
शिन्टो (जापान), ताओवाद (चीन), सिख धर्म र जैन धर्म ९भारत० जस्ता साना तर सांस्कृतिक दृष्टिले महत्वपूर्ण धर्महरूको संयुक्त जनसंख्या करिब ६.१ करोड रहेको छ।