काठमाडौँ, साउन ६। देशभरका सहकारी पीडितहरूमध्ये अहिले प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडका ८७० भन्दा बढी बचतकर्ता गम्भीर समस्यामा परेका छन्। सहकारीमा जम्मा गरिएको करिब १ अर्ब रुपैयाँभन्दा बढी रकम विभिन्न कम्पनीमार्फत प्रभु ग्रुपका अध्यक्ष तथा नेकपा एमाले सांसद देवीप्रकाश भट्टचन र उनका परिवाररनिकट व्यक्तिका कम्पनीहरूमा अपचलन भएको खुलेको छ।
सहकारीको बचतकर्तामध्ये एक, ८२ वर्षीय हीराप्रकाश गौचन, अमेरिका बसेर कमाएको आफ्नो जीवनभरको पूँजी प्रभु सहकारीमा जम्मा गरे पनि विगत तीन वर्षदेखि एक रुपैयाँ समेत फिर्ता पाउन सकेका छैनन्। उनले भने, 'हामी बुढाबुढीले अमेरिका रेस्टुरेन्टका जुठा भाँडा माझेर कमाएको पैसा हो, अहिले केही पनि फिर्ता पाएका छैनौँ।
सांसद भट्टचनको नेटवर्क :आफन्तकै नाममा करोडौँ ऋण प्रवाह
हाम्रो छानबिनमा खुलेको विवरणअनुसार, प्रभु को–अपरेटिभबाट मात्र सांसद भट्टचनको नाममा ८।५ करोड, उनका भतिज मिजास भट्टचनको नाममा ८ करोड, बहिनी ताराकुमारी भट्टचनको नाममा १० करोड, ज्वाइँ एवं अध्यक्ष विनोद थकालीको नाममा करोडौँ, र प्रभु ग्रुपका पदाधिकारी एवं निकट कम्पनीहरूमा कुल १ अर्ब रुपैयाँभन्दा बढीको कर्जा प्रवाह गरिएको छ।
त्यसमा प्रभु हेलिकप्टर, प्रभु ग्रुप प्रालि, नेपाल इन्भेस्टमेन्ट, प्रभु इनर्जी, क्यूईडी इन्भेस्टमेन्ट, यात्री हाउजिङजस्ता कम्पनीहरू छन्, जसमा भट्टचन परिवार वा उनीसँग निकट सम्बन्ध भएका व्यक्तिहरूको संलग्नता स्पष्ट देखिन्छ।
सहकारी विभागको निर्देशनको उल्लंघन
२०७९ सालमै सहकारी विभागले सहकारीहरूलाई जम्मा बचतको कम्तीमा १०–१५ प्रतिशत तरलता राख्न बाध्य गरेको भए पनि, प्रभु को–अपरेटिभको खातामा १६ लाख रुपैयाँमात्र भएको लेखापरीक्षण प्रतिवेदनले देखाएको छ। त्यही प्रतिवेदनअनुसार, सहकारीको कुल सम्पत्ति १।५४ अर्ब, तर दायित्व १।३३ अर्ब रहेको छ।
‘मर्ज’को नाममा अर्को समस्या आयात
प्रभु को–अपरेटिभले आर्थिक रूपमा गम्भीर समस्यामा रहेको हब को–अपरेटिभसँग २०८० वैशाखमा मर्ज गरेपछि थप घाटा बढेको देखिएको छ। हब को–अपरेटिभमा पहिले नै ७.४२ करोडको सञ्चित नोक्सानी, बिना धितो कर्जा वितरणजस्ता कमजोरीहरू थिए।
राजनीतिक पहुँच र नियमनहीनता : अपचलनलाई संरक्षण
भट्टचन एमालेको तर्फबाट समानुपातिक सांसद हुनुका साथै प्रभु ग्रुप मार्फत बैंक, बीमा, हेलिकप्टर, टेलिभिजन, इ–कमर्स जस्ता ३६ कम्पनी सञ्चालन गर्छन्। सहकारी बचत अपचलनको विषयमा बनेको संसदीय छानबिन समितिको प्रतिवेदनले पनि राजनीतिक पहुँच भएका व्यक्तिहरूले सहकारी नियमन प्रणालीलाई पन्छ्याउँदै अपचलन गरेको स्पष्ट गरेको छ।
बचतकर्ताको बिन्ती : “पैसा होइन भने जग्गा देऊ भने, ३० लाखको जग्गा १ करोडमा भनिन्छ”
पैसा फिर्ता नपाएपछि धेरै बचतकर्ताहरू सहकारीले प्रस्ताव गरेका जग्गा लिन खोज्दा बजार मूल्यको दोब्बरभन्दा बढी मूल्य राखिएको पाएपछि पछि हटेका छन्। “७० प्रतिशत बचतकर्ता थकाली समुदायकै छन्, देवीप्रकाशको सम्बन्धका कारण विरोध गर्न पनि अप्ठ्यारो छ,” एक बचतकर्ताले भने।