काठमाडौं । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर काठमाडौंमा प्रदर्शन गरेका छन् । प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायत निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा माइतीघरमण्डलादेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।
विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्तिको व्यवस्था र गैरनाफामूलक भन्ने व्यवस्था हटाउनुपर्ने उनीहरुको माग छ । माग सम्बोधन नभए विद्यालय नै बन्द गर्ने चेतावनी उनीहरुले दिँदै आएका छन् ।
विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिबाट पास भएर प्रतिनिधि सभामा पेश भइसकेको छ ।
यस्ता छन् निजी विद्यालय सञ्चालकका माग–
१) ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने ।
२) विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खानारखाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
३) कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर–नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने ।
४)छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।
५)छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३(क), नियमावली, २०६० को नियम १० (क), मा ४५५ आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सीटीईभीटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनुपर्ने ।