काठमाडौं । तीन दिनदेखि संघीय राजधानी काठमाडौंमा जारी उखु किसानको आन्दोलनप्रति नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ऐक्यबद्धता जनाएका छन्। मंगलबार उनी माइतीघर मण्डल पुगेर धर्नामा सहभागी किसानहरूसँग पलेँटी कसेर बसेका थिए।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले उखु किसानको आन्दोलनमा साथ दिँदै सरकारलाई उनीहरूको माग यथाशीघ्र सम्बोधन गर्न आग्रह गरे। उनले भने, “उखु किसानलाई पटक–पटक आन्दोलन गर्न बाध्य बनाइनु दुर्भाग्यपूर्ण हो। यसप्रति सरकार गम्भीर बन्नुपर्छ।”
श्रेष्ठसँगै माओवादी केन्द्रका केही सांसदहरू पनि धर्नास्थलमा पुगेका थिए। श्रेष्ठले उखुको बक्यौता अनुदान प्रतिक्विन्टल रु ७० का दरले तुरुन्त भुक्तानी गर्न, न्यूनतम मूल्य समायोजन गर्न र मूल्य निर्धारण प्रक्रियामा किसानको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
किसानहरूको प्रमुख मागहरू:
आर्थिक वर्ष २०८१र८२ मा बिक्री गरिएको उखुको अनुदान रकम प्रतिक्विन्टल रु ७० का दरले तुरुन्त भुक्तानी गर्न।
आगामी वर्षका लागि अनुदान निरन्तरता दिने सुनिश्चितता।
उखुको मूल्य निर्धारण उद्योगी, सरकार र किसान बीच आपसी छलफलमार्फत गर्नुपर्ने।
आन्दोलन निरन्तर
उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतका किसानहरू आइतबारदेखि माइतीघर मण्डलमा उखुको बोटसहित शान्तिपूर्ण धर्नामा बसिरहेका छन्। मंगलबारसम्म उनीहरूको आन्दोलन जारी रहँदा, प्रदर्शनमा सहभागीहरूले “उखु कृषक शोषण बन्द गर”, “उखु अनुदान तुरुन्त भुक्तानी गर”, “एकतर्फी मूल्य स्वीकार्य छैन” भन्ने प्लेकार्ड बोकेका थिए।
नारायणकाजी श्रेष्ठले आन्दोलनलाई सफल पार्न माओवादी केन्द्रको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरे। उखु किसानको आवाजलाई संसदसम्म पुर्याउने आश्वासन पनि उनले दिएका छन्।
यो आन्दोलनले सरकारलाई कृषकका हकहितप्रति गम्भीर हुने चेतावनी दिएको विश्लेषण गरिँदैछ।