१० भदौ, काठमाडौं । पेशा र जीविकोपार्जनको अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनमा उत्रिएका कवाड व्यवसायी, संकलक र मजदुरहरूले आज मंगलबार पनि काठमाडौं महानगरपालिका कार्यालयको घेराउ गरेका छन्। उनीहरूले नाराबाजीसहित धर्ना दिँदै, आफ्नो पेशामाथि भएको हस्तक्षेप बन्द गर्न माग गरेका हुन्।
कवाड व्यवसायीहरूले पेशा गर्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको भन्दै गम्भीर असन्तोष जनाएका छन्। काठमाडौं महानगरपालिकाले पछिल्ला दिनहरूमा कवाड संकलन र भण्डारणमा रोक लगाउने, संरचना भत्काउने, सामग्री जफत गर्ने र मजदुरमाथि बल प्रयोग गर्ने कार्य गरिरहेको उनीहरूको आरोप छ।
प्रदर्शनकारीहरूले पाँच बुँदे माग राखेका छन्, जसमा संवैधानिक अधिकारको संरक्षणदेखि क्षतिपूर्ति मागसम्म समेटिएको छ। उनीहरूले भनेका छन् कि, “महानगरको ज्यादती तत्काल रोकिनुपर्छ, नत्र आन्दोलन अझ व्यापक बनाउनेछौं।”
मुख्य पाँच मागहरू:
1) व्यवसाय गर्ने संवैधानिक अधिकारको संरक्षण
2) कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्यको तत्काल अन्त्य
3) ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही
4) प्रभावित मजदुर र व्यवसायीको जिउ–धनको सुरक्षा सुनिश्चित
5) विगत दुई वर्षको क्षतिपूर्तिको व्यवस्था
हिजो सोमबार पनि आन्दोलनकारीहरूले कमलादीस्थित महानगर कार्यालयबाहिर धर्ना दिएका थिए। उनीहरूको भनाइमा महानगरले बिना सूचना कवाड संकलनमा रोक लगाउँदै आएको र त्यसले हजारौं मजदुरको जीविकामा असर परेको छ।
सरकार र स्थानीय तहको चासो जरुरी
कवाड व्यवसायीहरू सस्तो दरमा फोहोर संकलन गरी पुनःप्रयोगमा पुर्याउने काममा संलग्न छन्। यस्ता व्यवसायीको आवाज सुनेर न्यायोचित समाधान नगरेमा वातावरणीय व्यवस्थापनमा समेत असर पर्ने विज्ञहरू बताउँछन्।
आन्दोलनको समाधानका लागि काठमाडौं महानगरपालिकाले वार्ताको पहल गर्ने कि नदिने भन्ने टुंगो भने अझै सार्वजनिक भएको छैन।