वीरगञ्ज : गत भदौ २३ र २४ गते भएको जेन–जी घटनाको सम्बन्धमा गठित जाँचबुझ आयोगको टोली बारामा आइपुगेको छ।आयोगले बाराको स्थिति, सरोकार निकायका प्रतिनिधिहरू तथा प्रभावित व्यक्तिहरूसँग छलफल गरी घटनाबारे विस्तृत जानकारी लिएको हो। जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आएको टोलीले बुधबार बाराका निवर्तमान संघीय सांसद, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख र विभिन्न सरोकार निकायका प्रतिनिधिसँग छलफल गर्दै केही स्थानको स्थलगत अवलोकन समेत गरेको छ।
जेन–जी प्रदर्शनका क्रममा भएका क्षतिबारे जानकारी लिँदै अध्यक्ष कार्कीले बुधबार जिल्ला प्रशासन कार्यालय बारामा सरोकारवालाहरूसँग विस्तृत छलफल गरेका थिए। छलफलका क्रममा कार्कीले आन्दोलनका क्रममा व्यक्तिका घर तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्नेविरुद्ध प्रमाणका आधारमा प्रहरीमा उजुरी दिन सकिने बताए। फौजदारी अपराधको अनुसन्धान तथा कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्नु नपर्ने उनको भनाइ थियो।
अध्यक्ष कार्कीले आयोगमा परेका उजुरीका आधारमा अनुसन्धान गर्ने बताए पनि आयोग आफैँले कारबाही गर्न नसक्ने स्पष्ट पार्दै, गम्भीर प्रकृतिका घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने वा नपर्ने विषयमा सरकारले निर्णय गर्नुपर्ने प्रतिवेदन आयोगले दिने जानकारी गराए। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको अध्यक्षतामा सम्पन्न छलफलमा बाराका निवर्तमान संघीय सांसद किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनाली र प्रदेश सांसद समीर महमदले घटनासम्बन्धी जानकारी आयोगका अध्यक्ष कार्कीलाई गराएका थिए।
त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साह, कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, बारागढी गाउँपालिकाका अध्यक्ष अकोश जयसवाललगायतले जेन–जी आन्दोलनका नाममा व्यक्तिगत तथा राजनीतिक प्रतिशोधका कारण घर र कार्यालयमा तोडफोड तथा आगजनी भएको बताउँदै निष्पक्ष छानबिनको माग गरे।
यसै क्रममा बुधबार साँझ अध्यक्ष कार्कीले बाराको जितपुरसिमरा उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय सिमरा र बारा–४ का निवर्तमान सांसद तथा पूर्वमन्त्री किसान श्रेष्ठको औराहास्थित निवासको स्थलगत अवलोकनसमेत गरेका थिए। अवलोकनका क्रममा अध्यक्ष कार्कीलाई जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईं, आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत दिनेश पाण्डेलगायतले भदौ २४ गते भएको तोडफोड र आगजनीका घटनाबारे विस्तृत जानकारी गराएका थिए।
अध्यक्ष कार्कीले जेन–जी प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिका विषयमा नेपाल प्रहरीले फौजदारी अपराधका सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारीसमेत दिएका थिए। जेन–जी घटनाको सम्बन्धमा गठित जाँचबुझ आयोगको टोलीले बारापछि मकवानपुर जिल्लातर्फ लागेको छ ।सभार: नयाँ पत्रिका