ठोरी, २२ माघ । स्वास्थ्य र सुन्दरताको आधार योग भन्ने मूल नाराका साथ ठोरी गाउँपालिकामा आज देखि सप्ताहव्यापी बृहत् योग शिविर तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले शिविर उदघाटन गर्नु भएको हो ।
सो अवसरमा पालिका अध्यक्ष श्रेष्ठले शिविर ठोरीको लागि पहिलो, ऐतिहासिक र सुवर्ण अवसर भएको बताउनु भयो । शारिरिक तथा मानसिक रुपमा मानिस स्वस्थ्य रहे मात्रै विकास निर्माणले अग्रगति लिन सक्ने भन्दै अध्यक्ष श्रेष्ठले रोग लाग्नै नलिन र रोग लागेकोमा न्युनिकरण तथा नियन्त्रण गर्न योग साधना जरुरी रहेको बताउनु भयो ।

पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रशिक्षक लवदेव मिश्रको नेतृत्वमा रहेको प्रशिक्षक टोलीले प्रशिक्षण सुरु गरेको, आयोजक ठोरी गाउँपालिका वडा नं ४ ले जानकारी गराएको छ । प्रशिक्षक मिश्रले हड्डी तथा नसा सम्बन्धी समस्याबाट पीडित पालिका अध्यक्ष श्रेष्ठको योग विधीबाट उपचार गर्दै शिविरको सत्र सुरु गर्नु भएको थियो । ‘योग गरौँ, स्वस्थ रहौँ’ भन्ने सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको शिविरमा सुगर, उच्च रक्तचाप, कोलेस्ट्रोल, नसा सम्बन्धी समस्या, ढाड–कम्मर दुखाइ, पायल्स, निसन्तान सम्बन्धी समस्या जस्ता शारीरिक रोगका साथै मानसिक स्वास्थ्यसँग जोडिएका डिप्रेसन र एन्जाइटीजस्ता समस्या निदान, रोकथाम तथा न्युनिकरणका लागि आवश्यक योग अभ्यास गराइने प्रचार समितिका सदस्य तथा सामाजिक अभियन्ता सन्तोष श्रेष्ठले बताउनु भयो ।

ठोरी– ४ घ्याङडाँडा स्थित गाउँपालिका परिसरमा सञ्चालित शिविरमा हरेक दिन बिहान ५ः३० देखि ७ः३० बजेसम्म निःशुल्क योग अभ्यास हुने र बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म योग प्रशिक्षक प्रशिक्षण प्रदान गरिने बिङ नेपाली सामाजिक संस्थाका अध्यक्ष तथा सहायक योग प्रशिक्षक लिलामणि श्रेष्ठले बताउनु भयो । निश्शुल्क योग शिविरमा जो सुकै सर्वसाधरणलाई पनि प्रवेश अनुमति रहेको सहायक प्रशिक्षक श्रेष्ठले जानकारी गराउनु भएको छ ।