पर्सा — जीवन ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा ‘Aspire JJSS 2.0’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयले गत वर्षबाट सुरु गरेको उक्त कार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
विद्यालयका सञ्चालक एवं प्रिन्सिपल शिवजी गुप्ताको अध्यक्षता तथा पर्सा क्रिकेट सङ्घका अध्यक्ष एवं एनआई कलेजका प्रिन्सिपल मनिष सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
चार वटा क्याटेगोरीमा विभाजित प्रतियोगितामा सबै समूहले दमदार प्रस्तुति दिएका थिए। प्रतियोगितामा पहेँलो रङ्गको ड्रेस समूह प्रथम, हरियो समूह दोस्रो, रातो समूह तेस्रो र निलो समूह चौथो स्थान हासिल गर्न सफल भए। विजेता तथा उपविजेता विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको उद्देश्यबारे बोल्दै प्रिन्सिपल शिवजी गुप्ताले विद्यालयले विद्यार्थीहरूको बौद्धिक विकाससँगै प्राविधिक ज्ञानमा पनि दक्ष बनाउने लक्ष्यका साथ यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
निर्णायक मण्डलमा मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव, बुद्धिजीवी मनिष आस्वानी तथा महिला उद्यमी रश्मी दास रहेका थिए। कार्यक्रमको परिकल्पना कामाची गुप्ताले गरेकी थिइन्।
कार्यक्रमको धन्यवाद ज्ञापन विद्यालयकी सञ्चालिका मिनाक्षी गुप्ताले गरेकी थिइन् भने सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।
विद्यालयले आगामी दिनमा पनि यस्ता प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।