वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदै जाँदा मधेस प्रदेशको राजनीतिक परिदृश्यमा ठूलो उथलपुथल देखिएको छ। २०६३–०६४ को मधेस जनविद्रोहपछि राष्ट्रिय राजनीतिमा प्रभाव जमाउँदै आएका मधेस केन्द्रित दलहरू हालै सम्पन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा लगभग पूर्ण रूपमा पराजित भएका छन्।
प्राप्त नतिजाअनुसार मधेस प्रदेशका ३२ सिटमध्ये मधेस केन्द्रित दलहरूले एक सिट पनि जित्न सकेका छैनन्। अर्कोतर्फ “अमकी बार, बालेन सरकार” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३० भन्दा बढी सिट जित्दै मधेसमा ऐतिहासिक सफलता हासिल गरेको छ। निर्वाचन आयोगका प्रारम्भिक परिणामहरूले मधेसवादी दलहरू राष्ट्रिय पार्टीको मान्यता गुमाउने स्थितिमा पुगेको सङ्केत पनि दिएका छन्।
मधेस आन्दोलनका प्रमुख नेताहरूले आफ्नै गृह जिल्लामा पराजय भोगेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका संयोजक उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जसपा नेपालका नेता शरतसिंह भण्डारी, राजकिशोर यादव र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो जस्ता शीर्ष नेताहरू मतदाताको विश्वास गुमाउँदै प्रतिस्पर्धामा पछि परेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यो नतिजा सामान्य निर्वाचन परिणाम मात्र नभई मधेसको सामाजिक–राजनीतिक मनोविज्ञानमा आएको गहिरो परिवर्तनको संकेत हो। भदौ २३–२४ को ‘जेनजी आन्दोलन’ र युवा पुस्तामा बढेको असन्तुष्टिले मतदातालाई नयाँ विकल्पतर्फ आकर्षित गरेको विश्लेषण गरिएको छ।
इन्जिनियर मनोज कुमार महतोले निर्वाचनपछि देखिएको परिवर्तनलाई मधेसवासीहरूको ‘मौन विद्रोह’ को रूपमा चित्रण गरेका छन्। उनका अनुसार मधेसवादी दलहरूले २०६४ यता मधेसी जनतालाई आफ्नै मत बैंक ठानेर भोट लिँदै आए पनि उनीहरूका समस्या र आवाजलाई बेवास्ता गरेका कारण जनताले यसपटक नयाँ विकल्प रोजेका हुन्।
त्यस्तै राजनीतिक विश्लेषक डा. विजय कुमार मिश्रका अनुसार मधेस केन्द्रित दलहरूको स्वार्थ केन्द्रित एकीकरण–विभाजन र सत्तामुखी राजनीति नै उनीहरूको कमजोरीको मुख्य कारण बनेको छ। उनका अनुसार विकासभन्दा सत्ता र शक्ति केन्द्रित राजनीतिका कारण मधेसवासीमा असन्तुष्टि बढ्दै गएको थियो, जसलाई रास्वपाको ‘घण्टी’ चिन्हले अभिव्यक्ति दिने अवसर पायो।
प्रोफेसर सन्त सत्यनारायण आलोकले “अमकी बार, बालेन सरकार” नाराले विशेषगरी युवा मतदातालाई आकर्षित गरेको बताए। उनका अनुसार परम्परागत दलहरू आन्तरिक कलह र स्पष्ट एजेन्डाको अभावमा अल्झिरहेका बेला रास्वपाले नयाँ नेतृत्व र परिवर्तनको सन्देशसहित मधेसमा प्रवेश गर्दा ‘सुनामी’ जस्तो परिणाम आएको हो।
यद्यपि मधेसवादी दलहरूले हारलाई अस्थायी भन्दै आफ्नो एजेन्डा र संगठन अझै जीवित रहेको बताएका छन्। जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र झाले मधेसवासीहरूले संविधान संशोधन जस्ता मुद्दा पूरा गराउन रास्वपालाई मत दिएको हुन सक्ने बताउँदै अब आफूहरूले सरकारलाई खबरदारी गर्ने बताए।
निर्वाचन परिणामले मधेसको राजनीतिक नक्सामा ठूलो परिवर्तन ल्याएको देखिएको छ। समानुपातिक मतगणनामा पनि रास्वपाको अग्रता देखिएको छ। दुई दशकदेखि प्रभावशाली मानिएका मधेस केन्द्रित दलहरूको कमजोर उपस्थितिले मधेसको राजनीतिमा नयाँ समीकरण निर्माण हुने संकेत गरेको छ।