मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामद्वारा सञ्चालन गरिएको “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले पर्सामा जिल्ला स्तरीय सरोकारवाला निकायहरूसँग समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साको सभाहलमा आयोजित उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी भोला दहालको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठक, वीरगञ्जस्थित सशस्त्र प्रहरी बल (१३ नम्बर गण) का प्रमुख एसपी मोहन बहादुर क्षेत्री, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युबराज कटवाल लगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा अभियानको पहिलो चरणअन्तर्गत तयारी अवस्था, कार्यान्वयन रणनीति तथा लागुऔषध नियन्त्रणका लागि अपनाइने उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले लागुऔषध दुव्र्यसन न्यूनीकरण, सेवनकर्ताको पहिचान, उपचार तथा पुनःस्थापनामा समन्वयात्मक रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी, कार्यक्रममा जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुख, संघसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले अभियान सफल बनाउन सहकार्य, सचेतना अभिवृद्धि र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।
उक्त अन्तरक्रिया कार्यक्रमले लागुऔषध नियन्त्रण तथा सुधार अभियानलाई जिल्लास्तरमा प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण आधार तयार पार्ने विश्वास व्यक्त गरिएको छ।