सुनसरीलगायतका जिल्लामा विकसित पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै नौ राजनीतिक दलले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयुक्त अपिल जारी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि दलका प्रमुख तथा प्रतिनिधिहरूले सातबुँदे संयुक्त अपिल सार्वजनिक गर्दै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
अपिलमा सामाजिक सद्भाव र पारस्परिक भाइचारालाई खल्बल्याउने कुनै पनि गतिविधि वा उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। आवेग र मुठभेडले समस्या समाधान नगरी थप जटिलता निम्त्याउने भएकाले संयमता अपनाउन दलहरूले आह्वान गरेका छन्।
दलहरूले प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई समुदायस्तरसम्म विस्तार गर्न तथा विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित पार्टीका संरचनालाई निर्देशन दिएका छन्। साथै धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनबीच समन्वय गरी शान्ति कायम राख्न सक्रिय हुन आग्रह गरिएको छ।
संयुक्त अपिलमा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न नागरिकलाई अनुरोध गर्दै सञ्चारमाध्यमलाई तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न आग्रह गरिएको छ। साथै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कारबाही, पीडितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।


