नेपाली कम्युनिस्ट पार्टी पर्साले जिल्लाका नागरिकले भोग्दै आएका जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।मंगलबार पार्टीका जिल्ला संयोजक जयप्रकाश थारूको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै किसानदेखि उपभोक्तासम्मका समस्या समाधान गर्न माग गरिएको हो।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापालाई ज्ञापनपत्र बुझाउँदै संयोजक थारूले किसानलाई सहज र सस्तो मूल्यमा मल, बीउ, सिँचाइ तथा कृषि सामग्री उपलब्ध गराउन माँग गरे। साथै, मलखादमा हुने कालोबजारी नियन्त्रण गर्दै कृषि क्षेत्रलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने पार्टीको माँग छ।
त्यस्तै, दैनिक उपभोग्य वस्तुमा हुने कृत्रिम अभाव, कालोबजारी तथा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन र दोषीमाथि कारबाही गर्न आग्रह गरिएको छ। पार्टीले बिद्युत सेवा नियमित र भरपर्दो बनाउन, अघोषित बिद्युत कटौती तथा लाइनमा देखिने समस्या समाधान गर्न र बिद्युतमहसुल घटाउनसमेत माँग गरेको छ।
स्वास्थ्य क्षेत्रतर्फ सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप तथा सर्पदंशको एन्टिभेनम पर्याप्त मात्रामा उपलब्ध गराउन र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
ज्ञापनपत्रमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न, सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्न तथा जन्मदर्तादेखि मृत्युदर्तासम्मका प्रमाणपत्रमा लाग्ने शुल्क खारेज गर्नुपर्ने मागसमेत उल्लेख गरिएको छ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी थापाले ज्ञापनपत्रमा उठाइएका विषय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा जिल्ला इन्चार्ज पिएल श्रेष्ठ, सहइन्चार्ज मनोज चौधरी, केन्द्रीय सदस्यहरू किशोरी कुशवाहा र हिरा भट्टराई, सहसंयोजकहरू गंगा खड्का, फिरोज बादशाह र बाबुराम कौशिक तथा मधेस प्रदेश कमिटी सदस्यहरू सबा अन्सारी, अनिल पटेल, उमेश ठाकुर, मदन पटेल, जुमादिन अन्सारी, महेश पटेल, फिरोज अहमद असारी, दीपेन्द्र सिंह पटेल, शरिफ गदी, आकाश पटेललगायतको उपस्थिति थियो।