वीरगञ्ज । वीरगञ्जमा लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनःसञ्चालनको माग गर्दै कृषि क्रान्ति अभियानका संयोजक राजेन्द्र प्रसाद साह र संरक्षक अध्यक्ष रामबाबु साह सोनार ज्यू द्वारा सुरु गरिएको रिले अनशनप्रति जेन जि पर्साले समर्थन जनाएको छ।
जेन जि पर्साका संयोजक बिशेष साहले रिले अनशनमा सहभागी अभियानकर्मीहरूसँग ऐक्यबद्धता जनाउँदै चिनी कारखाना पुनःसञ्चालनका लागि आवश्यक सहयोग र चरणबद्ध आन्दोलनमा समेत साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
साहले किसान, मजदुर तथा स्थानीय जनताको हितसँग प्रत्यक्ष जोडिएको वीरगञ्ज चिनी कारखाना वर्षौँदेखि बन्द रहनु गम्भीर विषय भएको भन्दै सरकारले तत्काल चासो देखाई कारखाना सञ्चालनमा ल्याउन ठोस पहल गर्नुपर्ने बताएका छन्।
रिले अनशनमार्फत उठाइएका ७ बुँदे मागहरू तत्काल सम्बोधन गर्नुपर्ने जेन जि पर्साको धारणा छ। अभियानका प्रमुख मागहरूमा बन्द रहेको चिनी कारखाना पुनःसञ्चालन, स्थानीय श्रमिकलाई रोजगारीको व्यवस्था, चिनी उद्योगको आधुनिकीकरण, उद्योग सञ्चालनका लागि आवश्यक सरकारी नीति तथा बजेटको व्यवस्था, किसान–मजदुर तथा स्थानीय जनताको हित संरक्षण, गुणस्तरीय बीउ, मल, सिँचाइ, कृषि औजार तथा प्राविधिक सेवा सहज उपलब्ध गराउनेलगायतका विषय रहेका छन्।
जेन जि पर्साका संयोजक साहले किसानको समस्या केवल किसानको मात्र नभई समग्र देशको अर्थतन्त्र र खाद्य सुरक्षासँग जोडिएको विषय भएको भन्दै यस अभियानमा स्थानीय युवा संघ–संस्था, बुद्धिजीवी, समाजसेवी तथा सचेत नागरिकहरूलाई समेत ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।
उनले भने, “वीरगञ्ज चिनी कारखाना सञ्चालनमा आउँदा किसान, मजदुर र स्थानीय अर्थतन्त्र सबैले प्रत्यक्ष लाभ पाउनेछन्। त्यसैले सरकार गम्भीर भएर तत्काल वार्ता र आवश्यक प्रक्रिया अघि बढाई कारखाना सञ्चालनमा ल्याउनुपर्छ।”
जेन जि पर्साले आजदेखि अभियानमा सहभागीहरूसँग सहयोग, समन्वय तथा आवश्यक चरणबद्ध आन्दोलनमा समेत साथ दिने जनाएको छ। साथै, सरकारले रिले अनशन र किसानका मागप्रति तत्काल ध्यान दिई यथाशीघ्र समाधानको पहल गर्नुपर्ने जेन जि पर्साको माग छ।