श्री ५ मुमा महारानी सरकारको ९९औँ जन्मजयन्ती बिहीबार वीरगञ्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। देशभक्त राजभक्त समूहको आयोजनामा वीरगञ्ज महानगरपालिका–स्थित बाल मन्दिरमा जन्मजयन्ती समारोह आयोजना गरिएको हो। समूहका अध्यक्ष दीपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजतन्त्र समर्थक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
समारोहमा दीपेन्द्र प्रसाद रौनियार, मेहेन प्रसाद साह, वीरेन्द्र थापा, अब्दुल सतार अन्सारी, रमीता माया गुप्ता, कवि मौली रहमान, रामनारायण साह, शम्भु घिमिरे, प्रदीप साह, धनीलाल यादव र मनोज मालीलगायत सहभागी थिए। कार्यक्रममा सहभागीहरूले श्री ५ मुमा महारानी सरकारको जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मुलुकमा राष्ट्रिय एकता, शान्ति र समृद्धिको कामना गरेका थिए।
उनीहरूले मुलुकको इतिहास र राष्ट्रिय जीवनमा योगदान पुर्याएका व्यक्तित्वहरूको स्मरण गर्दै राष्ट्रिय भावना, आपसी सद्भाव र देशप्रतिको जिम्मेवारीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
आयोजकका अनुसार जन्मजयन्ती समारोह आपसी सद्भाव, राष्ट्रिय भावना तथा देशप्रतिको जिम्मेवारी अभिव्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको हो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।