वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ बिर्तास्थित ज्ञान ज्योति माध्यमिक विद्यालय परिवारले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका प्रिन्सिपल रामकिशोर यादवका अनुसार विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारी तथा अभिभावकहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी सहयोग गरेका हुन्।
प्रिन्सिपल यादवले विपद्को समयमा मानवीय भावनासहित सहयोग गर्ने उद्देश्यले विद्यालय परिवारले रकम संकलन गरेको बताए। उनका अनुसार विद्यार्थी तथा अभिभावकबाट समेत स्वेच्छिक रूपमा सहयोग रकम जुटाइएको हो।
संकलित सम्पूर्ण रकम प्याब्सन पर्साको खातामा जम्मा गरिएको प्रिन्सिपल यादवले जानकारी दिए। प्याब्सन पर्साले सदस्य विद्यालयहरूबाट संकलित रकम प्याब्सन केन्द्रको कोषमा जम्मा गर्ने र केन्द्रले देशभरबाट संकलित सहयोग रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी गरेको उनले बताए।
विपद्को समयमा सामाजिक तथा मानवीय अभियानमा विद्यालय परिवार सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै प्रिन्सिपल यादवले सहयोग गर्ने विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरे।
उनले दुःख र संकटका बेला प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा मानवीय धर्म र दायित्व भएको बताए। “दुःख र संकटका समयमा एक–अर्काको साथमा उभिएर अगाडि बढ्न अति जरुरी छ,” उनले भने।