रक्सौल- श्रीकृष्ण जन्माष्टमीको अवसरमा लक्ष्मीपुरस्थित एस.ए.भी. स्कुलमा श्रद्धा, भक्ति र उल्लासका साथ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूले भगवान् श्रीकृष्ण तथा राधाको आकर्षक भेष धारण गरी विभिन्न मनमोहक प्रस्तुति दिएका छन्।
कार्यक्रममा साना बालबालिकाहरू श्रीकृष्णको बालरूपमा सजिएर सहभागी भएका थिए। विद्यार्थीहरूले कान्हाको माखन चोरीलगायतका बाललीला प्रस्तुत गर्नुका साथै राधाको भेषमा समेत आकर्षक प्रस्तुति दिएका थिए। श्रीकृष्णको जन्मदेखि विभिन्न बाललीलासम्म समेटिएका प्रस्तुतिले उपस्थित शिक्षक, विद्यार्थी तथा अभिभावकको ध्यान खिचेको थियो।
राधा–कृष्णको भेषमा सजिएका बालबालिकाको मासूम हाउभाउ, भावभंगिमा र कलात्मक प्रस्तुतिले विद्यालय परिसरमा उत्साह थपेको थियो। कार्यक्रमका क्रममा ‘जय श्रीकृष्ण’को जयघोषले विद्यालय परिसर गुञ्जायमान बनेको थियो भने सम्पूर्ण वातावरण भक्तिमय बनेको थियो।
कार्यक्रमका क्रममा विद्यालयका शिक्षकहरूले यस्ता सांस्कृतिक तथा धार्मिक कार्यक्रमले बालबालिकालाई भारतीय संस्कृति, सनातन परम्परा तथा धार्मिक विरासतसँग परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए। यस्ता कार्यक्रमले बालबालिकामा आफ्नो संस्कृति र परम्प्रतिप्रति सम्मान तथा अपनत्वको भावना विकास गर्न सहयोग पुग्ने उनीहरूको भनाइ थियो।
कार्यक्रम सफल भएकोमा विद्यालयका प्रधानाचार्य साईमन रेक्स तथा निर्देशकद्वय अरविन्द कुमार सिंह र अशोक कुमार सिंहले खुसी व्यक्त गर्दै सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक–शिक्षिका तथा विद्यालय परिवारलाई शुभकामना दिएका छन्।
कार्यक्रममा भिक्टर डेका, कुन्दन राज, मन्दीप कुमार, प्रीति म्याम, कञ्चन म्याम तथा रामभरोस सर लगायत विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो।
विद्यालय परिवारको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले बालबालिकाको प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै श्रीकृष्ण जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वलाई समेत जीवन्त रूपमा प्रस्तुत गरेको विद्यालयले जनाएको छ।