२० भदौ,काठमाडौं । भोटेकोसी र त्रिशूली नदीको बहाव शनिबार बिहान सतर्कता तहभन्दा तल रहे पनि वर्षापछि दिउँसो नदीको बहाव बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार शनिबार बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल रहेको छ। तर देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेकाले दिउँसो नदी तथा खोलाको बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आज काठमाडौंसहित देशका ४७ जिल्ला तथा आसपास भएर बहने ससाना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरेको छ।
महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, खोटाङ, इलाम, धनकुटा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, पाल्पा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा र कञ्चनपुर तथा आसपासका जिल्लामा बहने ससाना नदीमा बहाव बढ्ने सम्भावना छ।
यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
यसैगरी रसुवा र नुवाकोट हुँदै बहने भोटेकोसी, त्रिशूली तथा अन्य ससाना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले नदी तथा खोला आसपासका बस्ती, सडक र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।