लायन्स क्लब अफ वीरगञ्ज गेटवेको आयोजनामा वीरगञ्ज–बहुअरीस्थित कुल्लिया उम्मे कुल्सुम लिल्बनात माध्यमिक विद्यालय (मुस्लिम महिला हाईस्कुल) परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय परिसरलाई हराभरा, स्वच्छ तथा वातावरणमैत्री बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
लायन्स क्लब अफ वीरगञ्ज गेटवेका अध्यक्ष तथा वरिष्ठ समाजसेवी प्रकाश कुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका एरिया अध्यक्ष सुनिल गुप्ताको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका सचिव कपिलदेव तिवारी, कोषाध्यक्ष वीरेन्द्र आर्य, लायन्स फैयाज आलम, वकिल रौनियार, श्याम बाबु प्रसादलगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो। यस्तै, विद्यालयका प्रधानाध्यापक साबिर अहमद एराजसहित शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उपाध्यायले वृक्षारोपण प्रकृति संरक्षणसँगै भावी पुस्तालाई वातावरणप्रति जिम्मेवार बनाउन महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वृक्षारोपणको महत्व तथा प्रकृति संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।
वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएकाले रोपिएका बिरुवाको संरक्षण र हुर्काउने कार्यमा विद्यालय, विद्यार्थी तथा समुदायले समेत विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणका लागि वृक्षारोपणलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
विद्यालय परिसरमा गरिएको वृक्षारोपणले वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै विद्यार्थीहरूमा प्रकृति तथा पर्यावरणप्रतिको सकारात्मक सोच र जिम्मेवारीको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।