काठमाडौं- हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ।
यो प्रणाली सुरुमा गहिरो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, मधेश र बागमती प्रदेशमा धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको भनाई छ। काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हल्का बर्षा भइरहेको छ।
आज मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको अधिकांश स्थान, सुदूरपश्चिम प्रदेशको तराई भू-भागको केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना महाशाखाको बुलेटिनमा उल्लेख छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।
राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेश प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
शुक्रबार र शनिबार पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।