वीरगञ्ज । मधेस प्रदेश सरकार, खेलकुद तथा समाजकल्याण मन्त्रालय, जनकपुरधाम, धनुषा तथा सबल नेपालको सयूक्त आयोजना एवम् सेभ द चिल्ड्रेन र स्वीडेन सरकारको सहयोगमा बाल अधिकारसम्बन्धी अभिमुखीकरण तथा सिकाइ आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
बाल अधिकारका लागि नागरिक समाज सशक्तीकरण परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना–२०८२, बालबालिकामैत्री तथा उत्तरदायी बजेट संकेत कार्यविधि–२०८२ र राष्ट्रिय बालबालिका नीति–२०८० को कार्यान्वयनसम्बन्धी विषयमा सहभागीहरूलाई अभिमुखीकरण गराइएको थियो।
कार्यक्रममा विशेषगरी पर्सा र बारामा बालविवाह, बाल संरक्षण तथा यस क्षेत्रमा देखिएका चुनौती र समाधानका रणनीतिबारे छलफल गरिएको थियो। साथै बालविवाह अन्त्यसम्बन्धी रणनीति–२०८२ बारे स्पष्ट धारणा विकास, स्थानीय तहका असल अभ्यास तथा चुनौतीको आदान–प्रदान, बालउत्तरदायी बजेट संकेतको प्रयोग, बजेट कोडिङसम्बन्धी ज्ञान तथा त्यसको प्रयोग र आगामी कार्ययोजना निर्माणलगायतका विषयमा सहभागीहरूबीच छलफल भएको थियो।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले प्रशिक्षण दिँदै बालविवाह अन्त्य, बाल संरक्षण तथा बालउत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, नागरिक समाज तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनु भएको छ।
त्यसैगरी निरबहादुर आलेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै बालबालिकाहरुको अधिकार संरक्षण र बालविवाह अन्त्यका लागि नीति तथा कार्ययोजनालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै अब यो दुई दिने कार्यशाला गोष्ठीमा सहभागिता जनाएका सबै जिम्मेवार व्यक्तिहरूले कार्यान्वयन गर्न सुझाव दिनुभएको छ।
कार्यशाला गोष्ठीमा बाल सञ्जालका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि तथा बालकल्याण अधिकारीसहित करिब ३० जना महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो। सहभागीहरूले जिल्लागत रूपमा साझा कार्ययोजना निर्माण गर्दै बाल अधिकार संरक्षण तथा बालविवाह अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।