वीरगञ्ज । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको निर्वाचन अन्तर्गत आज बिहान ११ बजेसम्म दाबी विरोध गर्न र मनोनयन फिर्ता लिने समय तोकिएको छ। त्यसपछि, बिहान ११ः३० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने तालिका छ।
महासंघको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन्। कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन्।
कमल गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका छन् भने निर्मला शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दर्ता गराएकी छिन्। स्वतन्त्र रूपमा रमेश बिष्टले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाले उम्मेदवारी दिएका छन्। चौलागाईं चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार छन् भने पुरी सेन्टर नेतृत्वको प्यानलका तर्फबाट उम्मेदवार बनेका छन्।
महिला उपाध्यक्ष पदका लागि गङ्गा पौडेल र नितु पण्डितबीच प्रतिस्पर्धा हुनेछ। महासचिव पदका लागि जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका अनुसार ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १३३ जनाले उम्मेदवारी दिएका छन्। मतदान यहि मंसिर २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ।