मकवानपुरमा १५० किलो गाँजा बोकेर लग्दै गर्दा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
मंगलबार राति करिब १० बजेतिर मनहरी गाउँपालिका–४ स्थितबाट सात जनालाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
पक्राउ पर्नेमा राक्सिराङका १५ वर्षीय किशोर, १९ वर्षीय टिकाराम प्रजा, कैलाश गाउँपालिकाका २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय हरिकुमार प्रजा, २७ वर्षीय विरमान प्रजा, मनहरीका ४४ वर्षीय रामहरि लुइँटेल र ३६ वर्षीय दिपक थापा मगर रहेका छन् ।
मंगलबार दिउँसो माथिल्लो मसिने भन्ने ठाउँमा पर्सा राष्ट्रिय निकुञ्जको कोर इलाका नजिकै रहेको वनमा ती सात जना व्यक्तिहरू देखा परेका थिए।
निकुञ्जबाट खटिएको कर्मचारी र नेपाली सेनाको टोलीले मानिसहरू बोरामा गाँजा बोकेर पैदल हिँडिरहेको देखेका थिए। त्यसरी गाँजा बोकेर जाँदै गरेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
उक्त खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक र इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरि नायब निरीक्षक रामशरण दुलालको कमाण्डमा टोली खटिएको थियो।
उक्त टोलीले राति सात जनालाई बोरामा राखेर १५० किलो गाँजा बोकेर लग्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।