काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खुमा गर्न लागेको प्रदर्शन तथा विरोध सभालाई सीसी क्यामेरा र ड्रोनको सहयोगमा निगरानी गर्ने भएको छ ।
राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाकाको माग राखेर आज काठमाडौंमा र्यालीसहित विरोध सभा गर्दैछ । कार्यक्रममा सहभागी हुन उपत्यका बाहिरका जिल्लाबाट ठूलो संख्यामा मान्छेहरु सभामा उपस्थित हुने दाबी राप्रपाले गरेको छ ।
राप्रपाको रयाली तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् ।
राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले २ हजारको हाराहारीमा प्रहरी परिचालन हुने दाबी गरे ।
सादा पोशाकदेखि बर्दीका प्रहरी गरेर २ हजार खटिने उनको भनाइ छ । त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले भने आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने बताएका छन् ।
यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राप्रपाले पनि ठूलो संख्यामा स्वयंसेवक परिचालन गरेको जनाएको छ । पार्टीका अनुसार कमल थापा नेतृत्वको राप्रपा नेपाल, जगमान गुरुङ नेतृत्वको राजतन्त्र पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति, शिव सेना नेपाललगायतले समेत प्रदर्शनलाई समर्थन गरेको छ ।