काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलन जारी राख्ने भएको छ । शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घन्टा र सभामुख देवराज घिमिरेसँग समेत शिक्षक महासंघका पदाधिकारीहरुले छलफल गरेका थिए।
छलफलमा शिक्षकहरुको काठमाडौंकेन्द्रित आन्दोलन, उनीहरुका माग र विद्यालयल शिक्षा विधेयक जारी गर्ने विषयमा छलफल भएको महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन्।
यद्यपि आन्दोलन भने नरोकिने उनले बताएका छन्। ‘समग्र परिस्थितिको मूल्याङकन गर्दा हामीले अझै आन्दोलनको मोर्चा डटीरहनु पर्ने अवस्था छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। अध्यक्ष सुवेदीले सदाझैं दिउँसो १२ बजे माइतीघर मण्डलमा शिक्षकहरूलाई उपस्थित हुन आग्रह गरेका छन्।
सुवेदीले विगतका सहमति सम्बोधन हुनुपर्ने र अग्रगामी ऐन नै आफूहरूको लक्ष्य रहेको बताएका छन्। ‘हामी एक दुई सानातिना मागहरुको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौं,’ उनले भनेका छन्। शनिबारको विरोध सभामै प्रधानमन्त्री र सभामुखसँग भएको भेटबारे सबै कुरा राखिने र समग्र परिस्थिती मूल्यांकनका लागि तहगत छलफल गरिने अध्यक्ष सुवेदीले जानकारी दिएका छन्।
उनले सबैलाई मर्यादित, संयमित र अनुशासित भएर आन्दोलनमा डटिरहन आग्रह गरेका छन्। ‘हामीले हिजोका दिनमा जे जे पाएका हौं आन्दोलनको बलमा नै पाएका हौं । अब पनि जे पाउने छौं, त्यो आन्दोलनकै बलमा पाउनै छौं । यो सत्यलाई हृदयंगम गरौं,’ अध्यक्ष सुवेदीले फेसबुकमा लेखेका छन्।
विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्ने लगायत माग राखेर महासंघको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सहितलाई निर्देशन दिएका थिए।
मन्त्रिपरिषदको यही वैशाख २ गतेको बैठकले संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको थियो।
सोही बैठकले महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिई आन्दोलन फिर्ता गरी विद्यालय फर्किन शिक्षकहरूलाई आह्वान गरेको थियो।