ठोरी– ठोरी गाउँपालिका वडा नं. ३ स्थीत गाई खोलामा बक्स पुलको शिलान्यास गरिएको छ । ठोरी गाउँपालिका अध्यक्ष लालवहादुर श्रेष्ठ र नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य तथा जिल्ला समन्वय समिति पर्साका निवर्तमान उपाध्यक्ष ठाकुरप्रसाद न्यौपानेले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन् ।
सो अवसरमा पालिका अध्यक्ष श्रेष्ठले खाने पानी, सडक, पुलपुलेसा, बिजुलीजस्ता विकास आधारभूत सेवाबाट आफ्नो पालिकाका कुनै पनि नागरिक बन्चित नरहोस भन्ने उद्देश्यका साथ आफुले काम गरिरहेको बताए । उनले मतदाता जसले राम्रो काम गरे उसैको हुने हुँदा सेवा प्रदान गर्ने क्रममा कहिल्यै पनि पार्टी नछुट्टयाउन आफुले मातहतका जनप्रतिनिधी र कर्मचारीलाई स्पष्ट निर्देशन दिएको जानकारी दिए ।
सो अवसरमा नेता न्यौपानेले पार्टीको सिद्धान्त र जनभावना अनुरुप चल्न सक्ने जनप्रतिनिधीले जहिले पनि साथ पाउने भन्दै पालिका सरकार नागरिकको सवैभन्दा नजिकको सरकार भएको हुँदा स्थानीय समस्याबाट टाढा भाग्न नहनुे विचार व्यक्त गरे । मधेश प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रलयको ४५ लाख अनुदान सहयोगमा निर्माण हुन थालेको मिनी पुल निर्माणको विक्रम निर्माण सेवा, ठोरी – ले ठेक्का सकार गरेको छ ।
शिलान्यास गरिएको पुलको चौंडाइ ६ मिटर र लम्बाई ११ मिटर रहने निर्माण कम्पनीका निर्देशक राजु श्रेष्ठले जानकारी दिएका छन, । चालु आवको असार मसान्तसम्म काम सम्पन्न गर्नु पर्ने ठेक्का सम्झौतामा उल्लेख छ । कार्यक्रममा ठोरी ३ का वडाध्यक्ष शम्भु खड्का, साबिक निर्मलबस्ती गाबिसका पुर्व उपाध्यक्ष गोबिन्द प्रताप श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बर्खा याममा गाइ खोलामा भलबाढी आउँदा ब्रम्हापुरी आधारभूत विद्यालय र ओडार माविका ब्रम्हानगर क्षेत्रका विद्यार्थी समस्यामा पर्ने गरेका छन् ।

निर्माण हुने सडकले उक्त खण्डमा हुलाकी सडकको सहायक सडकको रुपमा प्रयोग हुनुका साथै विभिन्न चारवटा टोलाका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने स्थानीय बासिन्दाहरूले बताएका छन् ।