कुलमान घिसिङको कार्यकालमा पनि बारम्बार लोड ट्रिप हुने समस्याहरू देखिएको विद्युत् प्राधिकरणको दाबी छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, कुलमान घिसिङ कार्यकारी निर्देशक रहेका बेला पनि नियमित रूपमा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या देखिएको थियो, जुन समाधान गर्न विशेष समिति नै बनाइएको थियो। पछिल्लो समय हितेन्द्रदेव शाक्यको नेतृत्वमा समस्या झनै बढेको भन्ने जनगुनासोहरू सार्वजनिक भइरहँदा प्राधिकरणले यस्तो विवरण अगाडि ल्याएको हो।
घिसिङको पालामा पनि देशका विभिन्न स्थानहरूमा लाइन काटिने, तारमा समस्या देखिने, ट्रान्सफर्मर बिग्रिने जस्ता प्राविधिक समस्या सामान्यझैं भएका थिए। कतिपय ठाउँमा ट्रान्सफर्मर चोरी हुने वा आगलागीका घटनाहरूसमेत देखा परेका थिए।
जसको उदाहरणस्वरूप चितवनको भरतपुरस्थित आँपटारी क्षेत्रमा बारम्बार विद्युत् अवरुद्ध हुने समस्याको अध्ययन गर्न सन् २०८० साल साउन २६ गते छानबिन समिति गठन गरिएको थियो।
उक्त अध्ययन टोलीको संयोजकता आयोजना व्यवस्थापन निर्देशनालयका उप–कार्यकारी निर्देशक तारा प्रसाद प्रधानले गरेका थिए भने सचिवालयका तत्कालीन निर्देशक कमल आचार्य, प्रसारण निर्देशनालयका प्रबन्धक थर्कबहादुर थापा, ई.मे. वर्कशप निर्माण आयोजनाका उप–प्रबन्धक सुरज दाहाल र ग्रीड सञ्चालन विभागका इञ्जिनियर करिम हुसेन खान सदस्य थिए।
‘अध्ययन तथा राय सिफारिस समिति’ नाम दिइएको उक्त टोलीलाई ट्रिपिङ, अस्वाभाविक भोल्टेज घटबढ, उपकरण नचल्ने न्यून भोल्टेज, र बारम्बार आउने गुनासोहरूको कारण पत्ता लगाई समाधानको उपाय सिफारिस गर्न निर्देशन दिइएको थियो।
प्राधिकरणका अनुसार विगतमा पनि देशका विभिन्न सबस्टेसन र ट्रान्सफर्मरहरूमा यस्ता समस्या देखिनु सामान्यजस्तै हो। नयाँ नेतृत्व आएपछि मात्रै समस्या सुरु भएको भन्ने धारणा तथ्यमा आधारित नरहेको र नियोजितरूपमा फैलाइएको हुन सक्ने प्राधिकरणको ठहर छ।